शहरमा विप्लव बन्दको आंशिक प्रभाव, राजमार्ग ठप्प, ठाउँठाँउमा कुकरबम आतंक

१३ जेठ, काठमाडौं । सरकारद्धारा प्रतिवन्धित नेत्र विक्रम चन्द (विप्लव) समूहको नेपाल बन्दले सोमबार देशभरको जनजीवन प्रभावित भएको छ ।

प्रहरीको कारवाहीमा भोजपुरमा कार्यकर्ता तीर्थ घिमिरेको ज्यान गएपछि यस समूहले नेपाल बन्द आह्वान गरेको हो । शहरी क्षेत्रमा बन्दको आंशिक प्रभाव परेको छ ।

सार्वजनिक सवारी चल्न सकेका छैनन्, तर निजी सवारी भने चलिरहेका छन् । तर, सामान्य दिनको तुलनामा अत्यन्तै कम सवारी साधन सडकमा देखिन्छन् ।

बन्दको पूर्वसन्ध्यामा आइतबार काठमाडौं उपत्यकामा बम विष्फोट भई ४ जना विप्लव कार्यकर्ताको मृत्यु भएसँगै अहिले सर्वसाधारणमा त्रास फैलिएको छ ।

उक्त समूहले बम पड्काएर जनजीवन प्रभावित बनाउने योजना अनुसार तयार पारेका बम टाइमिङ नमिल्दा अघिल्लो दिन नै पड्किएपछि दूर्घटना भएको प्रहरीको अनुमान छ ।

बिहानैदेखि कम सवारी चल्दा यात्रुले भने सास्ती भोग्नु परेको महानगरीय टाफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

उता, राजमार्गमा भने सवारी साधन चल्न सकेका छैनन् । उपत्यका बाहिर जाने सवारी साधन चल्न नसकेको प्रहरीको भनाई छ ।

आइतबारबार साँझबाट काठमाडौंमा बम पड्किए भने देशका विभिन्न स्थानमा बम फेला परिरहेका छन् । जसले गर्दा विप्लव माओवादीले हिंसात्मक बन्दको तयारी गरिरहेको देखिएको छ ।

सरकारले यस समूहका नेता कार्यकर्तामाथि निगरानी बढाएपनि उसको हिंसात्मक गतिविधि नियन्त्रण गर्न भने सकेको छैन ।

बन्दको क्रममा विप्लव कार्यकर्ताले सुर्खेतमा यात्रु बस जलाएका छन् । नवलपुरमा टकमा बस प्रहार भएको छ । मकवानपुरमा पनि दुई ट्कमा आगजनी भएको प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here