काठमाडौं, २ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले देखि अहिलेसम्मकै सबैभन्दा धेरै आइपीओ खुल्ला गरेको छ ।
बैंकले शुक्रबारबाट ८ अर्ब रुपैयाँको आइपीओ विक्री खुला गरेको हो । बैंकले आइपीओमा कुल ८ करोड कित्तामध्ये बैंकले कर्मचारीका लागि १ लाख ६० हजार कित्ता (०.२० प्रतिशत) र सामूहिक लगानी कोषका लागि ४० लाख कित्ता (५ प्रतिशत) छुट्याइएको छ । बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
बैंकको आइपीओमा माघ ६ गतेसम्म आवेदन दिन पाइनेछ । सो अवधिसम्म सबै सेयर विक्री नभएमा ढिलोमा माघ १६ गतेसम्म आवेदन दिन पाइनेछ । बैंकको सेयर अन्डरराइटरमा नागरिक लगानी कोष र विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेका छन् ।
बैंकको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी-आइआर बीबीबी’ रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था मध्यम रहेको र वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको जनाउँछ ।
धितोपत्र नियमावली अनुसार सबै आवेदकलाई समानुपातिक रुपमा सेयर बाँडफाँट गर्नुपर्ने व्यवस्था छ । पछिल्लो समय खुलेका आइपीओमा साढे १२ लाखभन्दा बढीले आवेदन दिँदै आएका छन् ।
सो आधारमा बैंकको आइपीओमा आवेदन गर्नेले कम्तीमा ६० कित्ता सेयर पाउने देखिन्छ । यद्यपि, आवेदकको संख्या थपघटमा भएमा पाउने सेयर कित्ता पनि थपघट हुनेछ ।
हालसम्म नेपालमा डिम्याट खाता खोल्नेको संख्या २५ लाखको हाराहारी रहेका छन् । आइपीओमा सहभागिता देखाउने डिम्याटको संख्या १२ लाखभन्दा धेरै छ ।
यस अघि खुलेको चन्द्रागिरी हिल्सको आइपीओमा १२ लाख ५१ हजार १० जनाले २ करोड ४४ लाख ७४ हजार ५३० कित्ताका लागि आवेदन दिएका छन् ।
बैंकको आइपीओमा आवेदकको संख्या धेरै बढे १३ लाख पुग्ने देखिन्छ । उक्त संख्यालाई आधार मान्दा जस बैंकको आइपीओमा प्रति आवेदक ६० देखि ७० कित्ता सम्म शेयर पर्ने सम्भावना प्रवल छ । तर, उक्त आइपीओमा सेयर पर्ला भन्ने आवेदकले दिने आवेदनमा पनि भर पर्ने देखिन्छ ।