हालसम्मकै ठूलो आइपीओमा पहिलो दिन कति पर्‍यो आवेदन ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा पहिलो दिनमै ३ करोड ७० लाख ६२ हजार ६७० कित्ताका लागि आवेदन परेको छ ।

सीडीएस एक्ड क्लियरिङ लिमिटेडको तथ्यांक अनुसार पहिलो दिन नै कुल २ लाख ८५ हजार ३१८ जना लगानीकर्ताले ३ अर्ब ७० करोड ६२ लाख ६७ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् ।

कम्पनीले शुक्रबारदेखि सर्वसाधारणका लागि ७ करोड ५८ लाख ४० हजार कित्ता आइपीओ खुला गरेको हो । यसआधारमा, सर्वसाधारणलाई खुला गरेकोमध्ये ४८.८७ प्रतिशत आइपीओ पहिलो दिनमै बिक्री भएको छ ।

बैंकले आइपीओमा कुल ८ करोड कित्तामध्ये बैंकले कर्मचारीका लागि १ लाख ६० हजार कित्ता (०.२० प्रतिशत) र सामूहिक लगानी कोषका लागि ४० लाख कित्ता (५ प्रतिशत) छुट्याइएको छ । बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

बैंकको आइपीओमा माघ ६ गतेसम्म आवेदन दिन पाइनेछ । सो अवधिसम्म सबै सेयर विक्री नभएमा ढिलोमा माघ १६ गतेसम्म आवेदन दिन पाइनेछ । बैंकको सेयर अन्डरराइटरमा नागरिक लगानी कोष र विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेका छन् ।

बैंकको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी-आइआर बीबीबी’ रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था मध्यम रहेको र वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको जनाउँछ ।

धितोपत्र नियमावली अनुसार सबै आवेदकलाई समानुपातिक रुपमा सेयर बाँडफाँट गर्नुपर्ने व्यवस्था छ । पछिल्लो समय खुलेका आइपीओमा साढे १२ लाखभन्दा बढीले आवेदन दिँदै आएका छन् ।

सो आधारमा बैंकको आइपीओमा आवेदन गर्नेले कम्तीमा ६० कित्ता सेयर पाउने देखिन्छ । यद्यपि, आवेदकको संख्या थपघटमा भएमा पाउने सेयर कित्ता पनि थपघट हुनेछ ।

हालसम्म नेपालमा डिम्याट खाता खोल्नेको संख्या २५ लाखको हाराहारी रहेका छन् । आइपीओमा सहभागिता देखाउने डिम्याटको संख्या १२ लाखभन्दा धेरै छ ।

यस अघि खुलेको चन्द्रागिरी हिल्सको आइपीओमा १२ लाख ५१ हजार १० जनाले २ करोड ४४ लाख ७४ हजार ५३० कित्ताका लागि आवेदन दिएका छन् ।

बैंकको आइपीओमा आवेदकको संख्या धेरै बढे १३ लाख पुग्ने देखिन्छ । उक्त संख्यालाई आधार मान्दा जस बैंकको आइपीओमा प्रति आवेदक ६० देखि ७० कित्ता सम्म शेयर पर्ने सम्भावना प्रवल छ । तर, उक्त आइपीओमा सेयर पर्ला भन्ने आवेदकले दिने आवेदनमा पनि भर पर्ने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here