सरकारले हेटाैँडा कपडा उद्योग चलाउने, सरकारी कर्मचारीले त्यँहीकाे कपडा किन्नुपर्ने

विराटनगर, १३ जेठ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले हेटाैँडा कपडा उद्योगबाट उत्पादन हुने कपडा अनिवार्यरूपमा सरकारी कर्मचारीले प्रयोग गर्नुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले उद्योग भाडामा सञ्चालन गर्ने र नेपाली सेना, प्रहरीले आवश्यकताअनुसारको उत्पादन प्रयोग गर्नुपर्नेमा जोड दिए ।

मन्त्री यादवले उच्च अदालतको न्यायाधीशको नेतृत्वमा गठन गरिएको आयोगको प्रतिवेदनपछि सरकारद्वारा सञ्चालित रुग्ण उद्योगहरू: गोरखामा रहेको रबर उद्योग, वीरगञ्ज चिनी कारखाना, बुटवलको धागो उद्योग व्यवस्थित रूपमा सञ्चालनका गर्ने जानकारी दिए ।

उनले विगत पाँच वर्षको अवधिमा सरकारले बन्द रहेको गोरखकाली रबर उद्योगका कर्मचारीलाई रु एक अर्ब १० करोड भुक्तान गरेको जानकारी दिए ।

मन्त्री यावदले विगतको सरकारले निजी क्षेत्रलाई सरकारका उद्योग कौडीको मूल्यमा बिक्री गरेको आरोप लगाउँदै आगामी दिनमा सरकारले निजी साझेदारीको अवधारणाअनुसार सरकारी उद्योग सञ्चालन गर्ने विश्वास दिलाए ।

उनले विराटनगर जुट मिल एउटा परिवर्तनको प्रतीकको रूपमा रहेको चर्चा गर्दै यसलाई सञ्चालन गरी जिउँदो सङ्ग्रहालयको स्थापना गर्ने वर्तमान सरकारको सोच रहेको बताए ।

मन्त्री यादवले चिनी उद्योगी बच्नुपर्ने, उपभोक्ताले शुपथ मूल्यमा वस्तु पाउनुपर्ने र किसानले समयमा रकम भुक्तानी पाउनुपर्ने अवधारणाको सोचअनुसार सरकारले कार्य गरिहेको र यो समस्या चाँडै समाधान हुने विश्वास व्यक्त गरे । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here