इन्फ्रास्ट्रकचरको आइपीओमा आवेदनको ओइरो, अहिलेसम्म कतिले भरे ?

काठमाडौं, ५ माघ । नेपाल इन्फ्रास्ट्रक्चरको आईपीओमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ ।

निष्काशन शुरु भएको तीन दिन (सोमबार) सम्ममामात्रै १४ अर्ब रुपैयाँ भन्दा धेरै रकम बराबरको आईपीओ आवेदन माग भएको छ ।

विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार सोमबार ५ बजेसम्म ११ लाख ७७ हजार ९ सय जनाले १४ करोड १९ लाख ९६ हजार ४ सय २० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीले शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ निष्काशन गरेको छ ।

बैंकले आइपीओमा कुल ८ करोड कित्तामध्ये बैंकले कर्मचारीका लागि १ लाख ६० हजार कित्ता (०.२० प्रतिशत) र सामूहिक लगानी कोषका लागि ४० लाख कित्ता (५ प्रतिशत) छुट्याइएको छ । बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

बैंकको आइपीओमा माघ ६ गतेसम्म आवेदन दिन पाइनेछ । सो अवधिसम्म सबै सेयर विक्री नभएमा ढिलोमा माघ १६ गतेसम्म आवेदन दिन पाइनेछ । बैंकको सेयर अन्डरराइटरमा नागरिक लगानी कोष र विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेका छन् ।

बैंकको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी-आइआर बीबीबी’ रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था मध्यम रहेको र वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको जनाउँछ ।

धितोपत्र नियमावली अनुसार सबै आवेदकलाई समानुपातिक रुपमा सेयर बाँडफाँट गर्नुपर्ने व्यवस्था छ । पछिल्लो समय खुलेका आइपीओमा साढे १२ लाखभन्दा बढीले आवेदन दिँदै आएका छन् ।

धितोपत्र निष्काशन तथा बाँडफाँट नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँट गर्नुपर्ने हुन्छ।

कम्पनीले सर्वसाधरणलाई ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याएको छ । यसअघि खुलेका आइपीओमा साढे १२ लाखले आवेदन दिँदै आएका छन् । पछिल्लो समय डिम्याट खाता खोल्नेको संख्या पनि ह्वात्तै बढेको छ । यसआधारमा करिब १५ लाख जनाले आइपीओ भर्ने आँकलन गरिएको छ ।

त्यस अनुसार बैंकको आइपीओ सबैलाई समानुपातिक रुपमा बाँड्दा ५० कित्ता पाउने सम्भावना देखिन्छ । तर, सबै आवेदकले ५० कित्ताका लागि आवेदन नगर्न पनि सक्छन् । त्यसैले बैंकको आइपीओमा न्यूनतम ५० देखि ८० कित्ता अर्थात् ५ हजारदेखि ८ हजार रुपैयाँ बराबरको आवेदन दिनु उपयुक्त देखिन्छ ।

यस अघि खुलेको चन्द्रागिरी हिल्सको आइपीओमा १२ लाख ५१ हजार १० जनाले २ करोड ४४ लाख ७४ हजार ५३० कित्ताका लागि आवेदन दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here