सेयर कारोबारको राफसाफ ‘टी प्लस टु’ मा, यस्ता छन् लगानीकर्ताले गर्नै पर्ने काम

काठमाडौं, ५ माघ । माघ ११ गतेदेखि सेयर कारोबारको राफसाफ तथा फछर्यौट चक्र ‘टी प्लस टु’ मा लागू हुने भएको छ ।

सीडीएससी एण्ड क्लियरिङले आईतबार एक सूचना जारी गर्दै यहि माघ ११ गतेदेखि धितोपत्र कारोबारको राफसाफ तथा फर्छ्यौट ‘टी प्लस टु’ मा गर्न निर्देशन दिएको हो ।

यसअघि ३ कार्यदिनमा राफसाफ हुँदै आएकोमा धितोपत्र कारोबार राफसाफ तथा फर्छ्यौट विनियमावली, २०६९ को उपविनियम १३ लाई संशोधन २ कार्यदिनमा झारेको छ ।

११ गते देखिको कारोबारबाट सेयरको राफसाफ अवधि टी प्लस ३ बाट टी प्लस २ बनाउन लागिएको हो ।

यस संगै सिडीएसले लगानीकर्ता, राफसाफ सदस्य, निक्षेप सदस्य र राफ साफ सदस्यले गर्नु पर्ने कार्य समेत तोकेको छ । ‘टी प्लस टु’ लागू भएसँगै सेयर खरिदबिक्री गरेपछिको अर्को २ दिनभित्र अर्थात ‘टी प्लस टु मा राफसाफ सक्नुपर्नेछ ।

जस अनुसार धितोपत्रको विक्री कारोबार गर्ने लगानीकर्ताले आफूले विक्रि गरेको धितोपत्रको राफसाफ तथा फर्छ्यौटका लागि e-DIS जारी गर्दा T+1 अर्थात् कारोबार भएको मितिको भोलिपल्ट भित्रमा जारी गरिसक्नु पर्ने छ।

e-DIS जारी गर्न नसक्ने लगानीकर्ताले T+1 भित्र भौतिक निर्देशन पूर्जी जारी गरी सम्बन्धित निक्षेप सदस्यकोमा बुझाउनु पर्ने छ। धितोपत्रको खरिद कारोबार गर्ने लगानीकर्ताले आफूले खरिद गरेको धितोपत्र बापतको रकम सम्बन्धित राफसाफ सदस्यलाई T+1 अर्थात् कारोबार भएको मितिको भोलिपल्टै बुझाउनु पर्ने छ।

त्यस्तै राफसाफ सदस्यले धितोपत्रको विक्री कारोबार गर्ने राफसाफ सदस्यले सम्पूर्ण विक्री कारोबारको पूँजीगत लाभकर गणनाका लागि आवश्यक WACC सम्बन्धी विवरण विक्रीकर्ता लगानीकर्ता बाट प्राप्त गरि T+2 को बिहान ११ बजे भित्र राफसाफ तथा फर्छ्यौट प्रणाली(CNS) मा प्रविष्टि गरि सक्नु पर्ने छ।

धितोपत्रको विक्री कारोवार गर्ने राफसाफ सदस्यले सम्पूर्ण विक्री कारोबारको राफसाफ तथा फर्छ्यौट कार्यका लागि आवश्यक धितोपत्र आफ्नो राफसाफ खातामा जम्मा भएको यकिन गरि कुनै विक्रीकर्ताले निर्धारित समयावधि भित्र आफ्नो राफसाफ खातामा जम्मा नगराएको खण्डमा T+2 को मध्यान्न १२ बजे भित्र सो विक्रिकर्ताको विक्री कारोबारको Shortage Mark गरिसक्नु पर्ने छ।

धितोपत्रको खरिद कारोबार गर्ने राफसाफ सदस्यले सम्पूर्ण विक्री तथा खरिद कारोबारको गणना गरि सो को नेटिङ्ग पश्चात् हुने रकम तथा अन्य कमिसन बुझाउनुपर्ने देखिएमा T+2 को मध्यान्न १२ बजे भित्र आफ्नो राफसाफ बैकमा रहेको राफसाफ खातामा जम्मा गरिसक्नु पर्ने छ।

धितोपत्रको खरिद कारोवार गर्ने राफसाफ सदस्यले राफसाफ भैसकेको धितोपत्र सम्बन्धित खरिदकर्ताको हितग्राही खातामा T+2 मा राफसाफ तथा फर्छ्यौट सम्पन्न भए पश्चात् यथाशीघ्र राफसाफ तथा फर्छ्यौट प्रणाली (CNS) मार्फत् हस्तान्तरण गर्नु पर्ने छ।

त्यस्तै निक्षेप सदस्यले हरेक दिन बिहान ११ बजे भित्रमा मेरो शेयर मार्फत् प्राप्त e-DIS को फाईल जेनेरेट गरि केन्द्रीय निक्षेप प्रणालीमा (CDAS) अपलोड गरि सोको कारोबार सफल भएको यकिन गरि मेरो शेयरमा सो e-DIS फाईल प्रोसेस गर्नु पर्ने छ।

e-DIS जारी गर्न नसक्ने लगानीकर्ताले प्रदान गरेको भौतिक निर्देशन पूर्जी तत्काल प्रणालीमा प्रविष्टि गरि सो को जानकारी सम्बन्धित लगानीकर्तालाई प्रदान गर्नु पर्ने छ।

राफसाफ बैंकले भने हरेक दिन राफसाफ तथा फर्छ्यौट प्रणालीमा प्राप्त निर्देशन बमोजिम राफसाफ सदस्यको पुल खाताहरू, राफसाफ गृहको राफसाफ खाता तथा विभिन्न कमिसन खाताहरूमा आवश्यक रकम डेविट वा क्रेडिट गरि सो को जानकारी प्रणालीमा प्रविष्टि गर्नु पर्ने छ।

परिमार्जित चक्र अनुसार धितोपत्रको राफसाफ तथा फर्छ्यौट कार्य निर्धारित समयावधि भित्र सम्पन्न गर्न सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूले आ-आफ्नो दायित्व पुरा गरि राफसाफ प्रक्रिया सम्पन्न गर्न सिडीएसले अनुरोध गरेको छ ।

धितोपत्र कारोबारको राफसाफ तथा फर्छ्यौट चक्र छोटिए संगै बजारमा धितोपत्रको तरलतामा वृद्धि हुन गई समग्र पूँजी बजार थप चलायमान हुने र सो बाट लगानीकर्ताहरु थप लाभान्वित हुने विश्वास लिइएको छ।

माघ ११ गतेदेखि सेयर कारोबारको राफसाफ ‘टी प्लस टु’ मै हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here