तीन लाखले दिए दोस्रो किस्ताको निवेदन

क्लाउडपत्रिका

काठमाडौं । निजी घर निर्माण सुरु गरी दोस्रो किस्ताका लागि निवेदन दिने भूकम्प पीडित लाभग्राहीको संख्या तीन लाख नाघेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणका अनुसार बिहीवारसम्ममा ३ लाख १ हजार ८४ भूकम्प पीडितले दोस्रो किस्ता पाउन निवदेन दिएका हुन् ।

पहिलो किस्ता लिएका लाभग्राहीले मापदण्डअनुसार जग तहसम्म निर्माण कार्य गरी दोस्रो किस्ताका लागि निवदेन दिन सक्छन् । लाभग्राहीले निवेदन दिएपश्चात प्राविधिकले जाँच गरी दोस्रो किस्ताका लागि सिफारिस गर्छन् ।

प्राधिकरणको तथ्यांकअनुसार दोस्रो किस्ताका लागि निवदेन दिएकामध्ये २ लाख ८८ हजार २३ जना लाभग्राही दोस्रो किस्ताका लागि प्रमाणीकरण भइसकेका छन् । बाँकी १३ हजार ६१ को पनि छिट्टै प्रमाणीकरण हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता यमलाल भूसालले जानकारी दिए ।

‘दोस्रो किस्ता लिने समयसीमा तोकिएका कारण, घर निर्माण गर्ने मौसम तथा सबै स्थानीय तह मातहत रहनेगरी प्राविधिक खटाइएका कारण निजी घर पुनर्निर्माण उत्साहजनक देखिएको हो,’ उनले भने ।

प्राधिकरणको सूचना प्रणालीमा दर्ता भएको तथ्याङ्कअनुसार सबैभन्दा धेरै सिन्धुपाल्चोकका ५१ हजार ६६ लाभग्राहीले दोस्रो किस्ताका लागि निवदेन दिएका छन् ।

भूकम्प अति प्रभावितका साथै कम प्रभावित जिल्लाहरुमा पनि दोस्रो किस्ताका लागि निवेदन दिने लाभग्राहीको संख्या बृद्धि भइरहेको छ । कम प्रभावित लमजुङका ६ सय ५२, चितवनका ५ सय २ र नवलपरासीका २९ लाभग्राहीले दोस्रो किस्ताका लागि निवदेन दिएका छन् ।

शहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अनुसार बिहीबारसम्म ३ लाख ३८ हजार २९ घर पुनर्निर्माण भइरहेका छन् भने १ लाख १ हजार ६ सय ९४ घरको पुनर्निर्माण सम्पन्न भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here