धुलिखेल महोत्सव सुरु, १५० भन्दा बढी स्टल

क्लाउडपत्रिका

काठमाडौं । धुलिखेल उद्योग वाणिज्य संघको आयोजनामा बुधबारदेखि धुलिखेल महोत्सव सुरु भएको छ । धुलिखेल रंगशालामा आयोजना भइरहेको महोत्सवमा कृषि, पर्यटन, हस्तकला, औद्योगिक उत्पादन, सूचना प्रविधि, शिक्षा र स्वास्थ, निर्माण सामग्री, भवन निर्माण प्रविधिलगायत सेवा र वस्तुका १५० भन्दा बढी स्टल रहेका छन् ।

मेलामा काभ्रे जिल्ला, प्रदेश नम्बर ३ लगायत राष्ट्रिय तथा वहुराष्ट्रिय उद्योग व्यवसायिक प्रतिष्ठानहरुको सहभागिता छ । महोत्सवका मुख्य आकर्षणका रुपमा जिल्लास्तरीय कृषि, पर्यटन र हस्तकलाका सामग्री छन् । मेलाका अवसरमा उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष अन्तरक्रियासमेत हुने संघका अध्यक्ष मञ्जुकुमार कोजूले जानकारी दिए ।

स्थानीय तहमा आर्थिक गतिविधिमा जनताको प्रत्यक्ष सहभागिता र अर्थतन्त्रको मूल प्रवाहमा स्थानीय जनतालाई समाहित गरी उनीहरुको जीवनस्तर सुधार गर्ने अभियान स्वरुप धुलिखेल उद्योग वाणिज्य संघले महोत्सव गर्दै आएको उनको भनाइ छ ।

धुलिखेल उद्योग वाणिज्य संघले २०६६ सालमा पहिलो महोत्सव आयोजना गरेको थियो । यसलाई निरन्तरता दिदै संघले २०७२ र २०७३ सालमा खाना महोत्सव समेत आयोजना गरेको थियो ।

काभ्रे जिल्लाको औद्योगिक तथा व्यापारिक क्षेत्रमा व्यवस्थित बजारीकरण र आधुनिकीकरण गर्न एकै थलोमा उत्पादक, उत्पादन, उपभोक्ता, कृषि उपज विक्रेताहरु, सेवाहरु, व्यापारीहरु, घरेलु तथा साना उद्योगीहरु र सरोकारवालाहरुसँग सिधै सम्पर्क गर्न अहिले आयोजना भइरहेको महोत्सव महत्वपूर्ण रहने अध्यक्ष कोजूको दावी छ ।

काभ्रेको मात्र नभएर काठमाण्डौ, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुलीलगायतका छिमेकी जिल्लाहरु र अन्य क्षेत्रबाट समेत १ लाख ५० हजारभन्दा वढी दर्शकहरुले महोत्सव अवलोकन गर्ने धुलिखेल उद्योग वाणिज्य संघले विश्वास लिएको छ ।

महोत्सवलाई आकर्षक वनाउन चित्रकला प्रदर्शनी, विज्ञहरुसँगको अन्तरक्रिया र काभ्रे जिल्लाको विभिन्न गतिविधि (इतिहास, शिक्षा, स्वास्थ, पूर्वाधार, कला संस्कृति, जीवनशैली आदि) झल्कने फोटो प्रदर्शनी पनि गरिने छ ।

महोत्सवमा विभिन्न खेल, लोकदोहोरी, विद्यालयस्तरीय सांस्कृतिक र खाना पकाउने प्रतियोगिताहरुको साथै साईकल ¥याली, स्थानीय सास्कृतिक झाँकी प्रदर्शनी भइरहेको छ । महोत्सवमा करीब ५ करोडको कारोवार हुने संघको अनुमान छ ।
धुलिखेल उद्योग वाणिज्य संघको मुख्य आयोजनामा भएको महोत्सवमा जिल्ला समन्वय समिति काभ्रे, धुलिखेल नगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ, काभ्रे उद्योग वाणिज्य संघ, क्षेत्रीय होटल संघ काभ्रे आयोजक छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here