नेपालमा कोरोनाविरुद्धको पहिलो खोप कसलाई लगाइन्छ ?

काठमाडौं, १३ माघ । नेपालमा कोरोनाविरुद्धको खोप अभियान माघ १४ बाट शुरु हुँदैछ ।

भारत सरकारले बिहीबार अनुदानमा दिएको १० लाख डोज कोभिड–१९ विरुद्धको खोप माघ १४ देखि फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सरसफाइकर्मीहरूलाई कोरोना खोप लगाउने सरकारको तयारी छ।

बुधबार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट खोप अभियानको घोषणा गर्नेछन्।

माघ १८ गतेसम्म देशका ७७ वटै जिल्लाका ३ सय खोप केन्द्रबाट खोप दिइने छ। खोप अभियानको पहिलो चरण १० दिनसम्म जारी रहने छ।

बेलायतको अक्स्फोर्ड विश्वविद्यालय र औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरी भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामको १० लाख खोप बिहीबार काठमाडौँ आइपुगेको थियो ।

यो खोप आइपुगेसँगै यसबारे सर्वसाधारणको मात्रै नभई स्वास्थ्यकर्मीहरूको पनि चासो बढेको छ ।

पहिलो चरणमा फोहर संकलक, चालक, एम्बुलेन्स चालक, शव वाहान चालक, प्रत्यक्ष खोप दिने स्वास्थ्य संस्थाका स्वाथ्यमर्की, स्वयमसेवक र सुरक्षाकर्मी, महिला स्वयम सेवक, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा खटिने कर्मचारी, वृद्धाश्रममा खटिने कर्मचारी, र जेलमा रहेका कैदी र सुरक्षाकर्मीलाई खोप दिइने छ।

प्रधानमन्त्री ओलीको घोषणासँगै काठमाडौंमा कोरोना भाइरसविरूद्धको पहिलो खोप टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले लगाउने भएका छन्।

उनले आफूसहित टेकु अस्पतालका सबै स्वास्थ्यकर्मीले खोप लगाउने बताए।

भारतमा यो खोप लगाएपछि करिब ५ सय जनालाई साइड इफेक्ट देखिएको छ। केही मानिसहरुको मृत्युसमेत भएको छ। तर, भारतीय अधिकारीहरुले खोपका कारण मृत्यु नभएको बताइरहेका छन्।

स्वास्थ्य मन्त्री त्रिपाठीले खोपबारेको भ्रममा नपरी अभियानमा सहभागी हुन अपीलसमेत गरेका छन्।

सरकारले निर्धक्क भएर कोरोना विरुद्धको खोप लगाउन आग्रह गरिहेका बेला कोरोना भाइरस विरुद्धको खोपबाट उत्पन्न नकारात्मक असरको जिम्मेवार को हुने ? भन्ने विषय अहिलेको मुख्य विषय बनेको छ ।

भारतको खोप उपत्पादक कम्पनी सेरमले समेत स्वास्थ्यमा विभिन्न किसिमका समस्या भएका व्यक्तिहरुले खोप नलगाउन आग्रह गरिसकेको छ । यता सरकारले भने कोभिड–१९ विरुद्धको खोप लगाउन चाहनेहरूले खोपका कारणले भविष्यमा कुनै समस्या आएमा आफु स्वयम जिम्मेवार हुनुपर्ने व्यवस्था गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here