मोबाइलको माग बढ्यो, ६ महिनामा ३६ लाख ६४ हजार सेट आयात

काठमाडौं, १५ माघ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण मोबाइलको आयात बढेको छ ।

कोरोनाका कारण शिक्षण सिकाइ, कम्पनीहरुको मिटिङ लगायत भर्चुअल माध्यमबाटै गर्ने चलन बढेसँगै मोबाइलको प्रयोग ह्वात्तै बढेको हो ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को अर्धवार्षिक (साउनदेखि पुस) सम्ममा ३६ लाख ६४ हजार मोबाइल सेट आयात भएको छ।

विभागको तथ्यांक हेर्दा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष करिब ७ लाख सेट मोबाइल बढी आयात भएको छ।

गत वर्ष साउनदेखि पुससम्ममा २९ लाख ६८ हजार सेट मोबाइल आयात भएको थियो।

पछिल्लो समय मोबाइल प्रयोगकर्ता बढ्दै जानु कोरोना महामारीको कारण अनलाइन कक्षा सञ्चालन हुनुले नै मोबाइलको माग बढेको व्यापारीको दाबी छ ।

एकै परिवारमा अलग(अलग कक्षामा पढ्ने विद्यार्थीको पढ्ने समय एकै हुनाले एक परिवारमा आवश्यक भन्दा बढी मोबाइल किन्नु पर्ने बाध्यता रहेको छ ।

अनलाइन क्लासका साथै जुममार्फत हुने विभिन्न भर्चुअल बैठक र सेमिनारमा पनि मोबाइलको प्रयोग बढि हुने गरेको छ । तर माघदेखि विद्यालयहरु खोल्नुको साथै कोरोना संक्रमणको बीच नै सबै क्षेत्र खुलेका कारण अब आयत घट्ने सम्भावना रहेको विज्ञहरुको दाबी छ ।

नेपालले बढी मोबाइल नेपाल आयात गर्नेमा चीन, भारत र भियतनाम रहेका छन् । सबैभन्दा धेरै १३ अर्ब ४० करोड मूल्य बराबरको ३० लाख २० हजार सेट चिनियाँ फोन भित्रिएका छन् ।

दोस्रोमा, भारतबाट ६ अर्ब ४४ करोड मूल्य बराबरको ४ लाख ६० सेट आएको छ। तेस्रोमा भियतनामबाट ६४ करोड ८९ लाख मूल्य बराबरको १ लाख ८० हजार सेट आएको विभागको तथ्यांकले देखाएको छ।

बालकदेखि वृद्धसम्म सबै किसिमको जानकारी पाउन र पठाउन मिल्ने विद्युतीय माध्यमका रूपमा मोबाइल मानवजीवनको अभिन्न अंगजस्तै पर्यायवाची बन्दै गएको छ।

नेपालमा पनि नयाँ नयाँ मोबाइल आयात हुँदै गएका छन्। रोजगारीमा गएका नेपाली, विदेश भ्रमणमा गएका व्यक्तिका साथै अध्ययनका लागि विदेशिएका नेपालीबाट पनि मोबाइलको आयात बढ्दो क्रममा रहेको अवस्था छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here