इन्फ्रास्टक्चरको आइपीओ तपाइलाई ५० कि ६०, कति समय लाग्छ फाइनल रिजल्ट आउन ?

काठमाडौं, १६ माघ । नेपाल इन्फ्रास्टक्चर बैंकले हालसम्मकै ठूलो साधारण सेयर आइपीओ बाँडफाँड गरेपनि फाइनल रिजल्टको लागि केहि समय लाग्ने भएको छ ।

लक्की ड्र मार्फत थप १० कित्ता सेयर परे नपरेको सबैमा चासोको विषय बनिरहेपनि रिजल्टको लागि भने डाटा प्रोसेसिङमा रहेका केही समय लाग्ने भएको हो।

अबको कम्तीमा २ घन्टाभित्र आईपीओ बाँडफाँडको रिजल्ट सार्वजनिक हुन सक्ने क्यापिटल स्रोतले जनाएको छ । कम्पनीले माघ २ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ निष्काशन गरेको थियो ।

निष्काशित कुल ८ करोड कित्तामध्ये बैंकले कर्मचारीका लागि १ लाख ६० हजार कित्ता (०.२ प्रतिशत) र सामूहिक लगानी कोषका लागि ४० लाख कित्ता (५ प्रतिशत) छुट्याइएको थियो । ।

बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए । क्यापिटलले दिएको जानकारी अनुसार ५० भन्दा कम वा ५० कित्तासम्म माग गर्ने सबैले मागे जति कम्पनीको सेयर पाएका छन् ।

यो आइपीओमा १० कित्ताका दरले आवेदन दिने ३४ हजार ३० आवेदकले ३ लाख ४० हजार ३०० कित्ता, २० कित्ताका दरले दिने २९ हजार ८५४ आवेदकले ५ लाख ९७ हजार ८० कित्ता, ३० कित्ताका दरले दिने २० हजार २४८ आवेदकले सेयर पाएका छन् ।

६ लाख ७ हजार ४४० कित्ता, ४० कित्ताका दरले दिने १६ हजार ९३४ आवेदकले ६ लाख ७७ हजार ३६० कित्ता र ५० कित्ताका दरले दिने १ लाख ७९ हजार ९३८ आवेदकले ८९ लाख ९६ हजार ९०० कित्ता सेयर पाएका छन्। ५० कित्ताभन्दा माथि आवेदन दिने ११ लाख ९४ हजार ४ आवेदकले पनि ५० कित्ता नै पाएका छन् ।

बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता सेयर गोलाप्रथाबाट ५० कित्ता भन्दा बढी आवेदन गर्ने ४ लाख ९२ हजार ७२ जनालाई थप १० कित्ता दरले बाँडफाँड भएको छ । त्यस अनुसार अधिकतम ६० कित्तासम्म आवेदनकर्ताले सेयर पाएका छन् ।

इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ हालसम्मकै ठूलो साधारण सेयर हो । नेपाल सरकारको समेत लगानी रहेको बैंक नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here