निगमका अधिकृत विक्रेताले पाउँदै आएको कमिसन वृद्धि

काठमाडौं, १७ माघ । नेपाल आयल निगम र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनबीच निगमका अधिकृत विक्रेताले पाउँदै आएको कमिसन वृद्धि गर्ने सहमति भएको छ । निगम केन्द्रीय कार्यालयमा आज भएको छलफलमा दुई पक्षबीच कमिसन वृद्धि गर्ने सहमति भएको हो ।

निगम सञ्चालक समितिको निर्णयअनुसार अधिकृत विक्रेताले साविकमा पाइरहेको पेट्रोलको कमिसन तीन प्रतिशत र डिजेलको कमिसन २.६५५ मा क्रमशः ०.३९५५ र ०.४७५ ले वृद्धि गरी पेट्रोलमा ३.३९५५ र डिजेलमा ३.१२५ पुर्‍याउने निर्णय गरेको थियो । दुई पक्षबीच निगम सञ्चालक समितिको निर्णयअनुसार कमिसन लागु गर्ने सहमति गरिएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

कमिसन वृद्धि गर्दा हुने मूल्य समायोजनअनुसार पेट्रोल र डिजेलमा प्रतिलिटर औसत ३६ पैसाले थप हुनेछ । पेट्रोल र डिजेलमा दिइआएको क्रमशः १० लिटर प्रति चार किलोलिटर र तीन लिटर प्रति चार किलोलिटर जर्ती हाललाई स्थगन गरिएको निगमले जनाएको छ ।

साथै, निगमले विक्रेताको प्राविधिक नोक्सानीको विस्तृत अध्ययन गर्न काठमाडौं विश्वविद्यालयको प्राविधिक विज्ञतालाई अनुरोध गरेको र सो कार्यलाई अघि बढाउन नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक एवं निगम सञ्चालक समितिका सदस्यले संयोजकत्व गर्ने गरी नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका दुई प्रतिनिधि एवं निगमका तर्फबाट समेत वरिष्ठ पदाधिकारी सदस्य रहने गरी एक उच्चस्तरीय कमिटी गठन गर्ने सहमति पनि भएको छ ।

निगमको पेट्रोलियम पदार्थ विक्रेता विनियमावली, २०७५ को संशोधनका लागि एसोसिएसनका प्रतिनिधिसमेत रहने गरी विनियमावली संशोधन कमिटी गठन गर्ने र निगमको डिपोदेखि विक्रेताको पेट्रोलपम्पसम्म ट्यांकर लकिङलाई थप प्रभावकारी बनाउन आधुनिक लकिङ जडान गर्ने सहमतिसमेत भएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here