किन घट्यो शेयर बजार,आत्तिनु पर्ने अवस्था छ कि छैन ?

काठमाडौं, १८ माघ । केही महिनादेखि लगातार बढेको शेयर बजारमा आइतबार पहिरो गएको छ ।

आइतबार नेप्से परिसूचक ५४.७५ अंकले घटेर २३७०.५४ अंकमा झरेको हो । यो संख्या कारोबार भएको अघिल्लो दिनको तुलनामा २.२६ प्रतिशत कम हो ।

प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गर्दा पनि कुनै प्रतिक्रिया नदिएको शेयर बजारमा आइतबार गएको पहिरोलाई लगानीकर्ताहरुले चासोको रुपमा लिएका छन् ।

शेयर बजारका विश्लेषकहरुले भने अहिले आत्तिनु पर्ने अवस्था नरहेको बताउछन् । आइतबारको पहिरो नभई बजार करेक्शनको रुपमा मात्रै बुझ्नु पर्ने विश्लेषकहरुको दाबी छ । बजार लगातार बढ्यो र कुनै एक दिन घट्यो भने त्यसलाई करेक्शन भएको भनिन्छ ।

यसअघि नेप्से मंसिर २१ गते १२३ अंकले घटेको थियो । नेप्सेमा नेगेटिभ सर्किट लागेर कारोबार अवधि नसकिँदै कारोबार स्थगित भएको हो ।

मौद्रिक नीतिको समिक्षा मार्फत शेयर कर्जामा पुनरावलोकन गरिने भनेसँगै त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारमा परेको आंकलन गरिएपनि त्यसको भोलिपल्ट देखि नै बजार बढ्न थालेको थियो । त्यसैले पनि आजको अवस्था हेर्दा आत्तिनु पर्ने अवस्था देखिदैन् ।

आइतबार बजार घट्नुको कुनै त्यस्तो खास कारण नरहेको विश्लेषकहरुले बताएपनि साना लागानीकर्ताहरुले भने अनेकौ अड्कल बाजी गरेका छन् ।

नेपाली पुँजी बजारमा ६५ प्रतिशतभन्दा बढीको हिस्सा रहेको बैंकिङ क्षेत्रको नाफा गत वर्षको तुलनामा कम भएको ६ महिने वित्तीय विवरण सार्वजनिकले पनि बजारमा प्रभाव परेको अनुमान गरेका छन् ।

सर्वोच्च अदालतमा विचाराधिन प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा निर्णय आउने चरणमा पुगेकोले पनि बजारमा केही शिथिलता देखिएको हुन सक्ने आंकलन गरिएको छ ।

प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दामा रिट निवेदक पक्षका वकिलको बहस सकिएको छ। अब भोलिदेखि सरकारी र प्रधानमन्त्री केपी शर्मा ओली पक्षका वकिलहरूले बहस गर्न थाल्ने छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here