इन्फ्रास्ट्रक्चर बैंकको सेयर आइतबारदेखि कारोबार हुने, कति तोकियो पहिलो कारोबार ?

काठमाडौं, २९ माघ । नेपालको सबैभन्दा ठूलो प्राथमिक सेयर निष्काशन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को २० करोड कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

निफ्राले ८ करोड र सर्वसाधरणका लागि १२ करोड कित्ता सेयर निष्काशन गरेको सेयर नेप्से०मा सूचीकृत भएको हो ।

सेयर सूचीकरण सम्झौता पत्रमा नेप्सेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका छन् ।

बैंकले शेयर सूचीकरण पश्चात दिनुपर्ने सेयर रजिष्ट्रार सेवाको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंलाई नियुक्त गरीसकेको जनाएको छ ।

नेप्सेमा सूचीकृत भएसँगै बैंकको सेयर आगामी आइतबारदेखि कारोबारमा आउने छ । बैंकको सेयर कारोबारका लागि नेप्सेले ११३.६२ रुपैयाँदेखि ३४०.८६ रुपैयाँ ओपनरेञ्ज तोकेको छ ।

यही रेञ्जको बीचमा रहेर बैंकको कारोबार खुल्ने छ । कम्पनीको सेयर NIFRA संकेतमा कारोबार हुनेछ ।

बैंकले माघ २ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ निष्काशन गरेको थियो ।

उक्त आइपीओमा कुल १४ लाख ८१ हजार २८४ जनाले आवेदन दिएका थिए । सोमध्ये ६ हजार २७६ आवेदन रद्द भएका थिए भने सदर भएका १४ लाख ७५ हजार ८ जनाले सेयर हात पारेका थिए ।

जसमा ५० कित्तासम्म आवेदन दिनेले मागे जति सेयर पाएका थिए भने सोभन्दा बढी माग गर्नेले गोलाप्रथाबाट ६० कित्ता सेयर पाएका थिए ।

३४ हजार ३० जनाले १० कित्ता, २९ हजार ८५४ जनाले २० कित्ता, २० हजार २४८ जनाले ३० कित्ता, १६ हजार ९३४ जनाले ४० कित्ता, ८ लाख ८१ हजार ८७० जनाले ५० कित्ता र ४ लाख ९२ हजार ७२ जनाले ६० कित्ता पाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here