कोरियामा रोजगारी गुमाउनेको संख्या २३ वर्षयताकै उच्च, साढे ६ हजार नेपाली फर्किन पाएनन्

सउल, ४ फागुन । दक्षिण कोरियामा गत डिसेम्बरदेखि कोरोना माहामारीको तेस्रो लहर फैलिएपछि गत जनवरीमा मात्रै रोजगारी गुमाउनेको संख्या ९ लाख ८२ हजार पुगेको छ ।

एकै महिनामा रोजगारी गुमेको यो सङ्ख्या गत २३ वर्षयताकै सबैभन्दा उच्च हो ।

यहाँको एक सरकारी तथ्याङ्क अनुसार वर्षको पहिलो महिनामै करीब १० लाख रोजगारी कटौती गरिएको छ । यसरी बेरोजगार हुनेको सङ्ख्या सन् १९९८ मा भएको एशियन वित्तीय सङ्कटपछिको पहिलो हो ।

कोभिड-१९ का कारण सरकारले पारेको कडा सामाजिक दूरीका कारण रोजगारी गुमाउनेमा साना तथा मझौला कम्पनीमा काम गर्ने कामदार सबैभन्दा बढी छन् ।

त्यसैगरी होटेल रेस्टुरेन्ट तथा अन्य मनोरञ्जनस्थलमा काम गर्ने अधिकांश कामदारले रोजगारी गुमाएका छन् । कोरोना महामारीकै कारण हालसम्म रोजगारी गुमाउनेको संख्या २५.८ मिलियन छ ।

हालसम्म सेवा क्षेत्रमा रोजगारी गुमाउनेको संख्या आठ लाख ९८ हजार छ भने आंशिक समय काम गर्ने पाँच लाख ६३ हजारले रोजगारी गुमाएका छन् ।

त्यसैगरी दैनिक ज्यालादारीमा काम गर्ने दुई लाख ३२ हजारले रोजगारी गुमाएका छन् भने स्वरोजगार एक लाख ५८ हजारले रोजगारी गुमाएको तथ्याङ्क सार्वजनिक भएको छ ।

जानकारहरु कोरियामा यति धेरै रोजगारी गुम्नु भनेको नेपाली कामदारलाई पनि अप्रत्यक्षरुपमा असर पर्ने बताउँछन् ।

कोरोना महामारीका कारण नेपाल पुगेर फर्किन नसकेका नेपाली कामदार छ हजार ५०० बढी छन् । नयाँ श्रम सम्झौता र इपिएसको परीक्षासमेत हुन सकेको छैन । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here