विकास खर्चभन्दा ठूलो बजेट घाटा, यसपाली पनि बीचैमा संशोधन गर्नु नपरोस!

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधवार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट करीब रु. ४ खर्ब ९४ अर्ब रुपैयाँ घाटामा रहेको छ ।

उनले प्रस्तुत गरेको १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेटका लागि आयस्रोतमा ९ खर्ब ५७ अर्ब १० करोड राजश्व र ५८ करोड विदेशी अनुदान मात्र छन् । बाँकी ४ खर्ब ९४ अर्बका जुटाउनका लागि सरकारले ऋण लिनु पर्ने छ ।

अर्थमन्त्रीले १ खर्ब ९९ अर्ब रुपैयाँ बराबरको विदेशी र १ खर्ब ९५ अर्ब रुपैयाँ स्वदेशी ऋण लिने बताएका छन् ।
यसले यो वर्ष उनलाई खर्चका लागि स्रोत जुटाउन हम्मे हम्मे पर्ने देखिन्छ । विकास बजेटको आकार चालु वर्षको संशोधित लक्ष्य भन्दा करीब ३५ प्रतिशतले बढी हो ।

चालु आर्थिक वर्षमा रु. १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख बजेट ल्याएका डा. खतिवडाले बजेटको मध्यावधी समीक्षामा त्यसलाई संशोधन गरी रु. ११ खर्ब ९९ अर्ब १५ करोड २५ लाखमा झारेका थिए ।

यो वर्ष चालु खर्चमा ५.६ प्रतिशत, विकास खर्चमा १५.५ प्रतिशत र वित्तीय व्यवस्थामा १३ प्रतिशत लक्ष्य नभेटिने निश्चित भएको छ ।

साथै, राजश्वको लक्ष्य पनि ९ खर्ब ४५ अर्ब ५५ करोड ८० लाख रुपैयाँबाट ९ र्ख १७ अर्ब १९ करोड १४ लाखमा संशोधन गरिएको थियो ।

त्यसो त डा. खतिवडाले आफूले मन्त्रालयको जिम्मेवारी पाएपछि अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराले ल्याएको बजेटको पनि संशोधन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here