गौतमबुद्ध रंगशालाको कम्पाउण्ड भत्काउने कार्यकर्तालाई नेकपाले गर्यो कारबाही

काठमाडाैं, १६ जेठ । धुर्मस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुर महानगरपालिकामा निर्माण गरिरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको कम्पाउण्ड बार भत्काउने दुई कार्यकर्तालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कारवाही गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी चितवन जिल्ला कार्यालयले बिहीबार एक विज्ञप्ती जारी गर्दै घटनामा संलग्न कार्यकर्तालाई कारबाही गरेको बताएको हो ।

बुधबार रंगशालाको पश्चिमतर्फको बार भएको स्थानमा सडक चौडा बनाउने भन्दै डोजर लगाएर भत्काइएको थियो ।

पार्टीका जिल्लाअध्यक्ष यमबहादुर परियार इन्द्रजितद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा दोषीउपर कडा कानूनी कारबाहीको माग गर्दै क्षतिपूर्ती भराउन समेत माग गरिएको छ ।

पार्टीले घटनामा संलग्न कार्यकर्ता प्रकाश कँडेललाई सदस्यबाट निलम्बन गरेको छ भने अर्का कार्यकर्ता भैरव बस्ताकोटीलाई दुई महिनाको लागि निलम्बन गरेको बताएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘हाम्रो पार्टीले भरतपुर १६ निवासी घटनाका मुख्य नाइके पार्टीका सदस्य प्रकाश कँडेललाई सदस्यताबाट निलम्बन गरी कारबाही गरेको छ भने पार्टी सदस्य भैरव बस्ताकोटीलाई दुई महिनाको लागि पार्टी सदस्यबाट निलम्बन गरिएको छ ।’

कँडेल र बस्ताकोटीसहित घटनामा संलग्न १७ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

कँडेल गत स्थानीय तहको निर्वाचनमा समेत भरतपुर महानगरपालिकाको मतगणना भैरहेको समयमा मतपत्र च्यात्ने कार्यमा समेत संलग्न थिए ।

कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेको धुर्मुस सुन्तली फाउन्डेसनले स्वदेश तथा विदेशमा बस्ने नेपालीहरुबाट आर्थिक सहयोग जुटाइ करीब तीन अर्बको लागतमा रंगशाला निर्माण गरिरहेको छ ।

यसैबीच फाउन्डेनले असुरक्षाको कारण देखाउँदै तत्कालको लागि निर्माण कार्य रोकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here