अपर तामाकोशीको सेयर मूल्यमा पोजेटिभ सर्किट,आइतबारबाट किन आयो उछाल ?

काठमाडौं, १० फागुन । अपर तामाकोशी हाइड्रोपावरको सेयर मूल्यमा उछाल आएको छ । आइतबार कारोबार भएदेखि नै बढेको तामाकोसी हाइड्रोपावरको सेयर मूल्य सोमबार पनि सर्किट लागेको छ ।

तामाकोशीको सेयर मूल्य ५३ रुपैयाँले बढेर प्रतिकित्ता ५९२ रुपैयाँ पुगेको छ । देशकै सबैभन्दा ठूलो ४५६ मेगावाटको तामाकोशीको जलविद्युत् आयोजनाको टर्बाइनमा पानी खसाल्ने पाइप (बाइफर्केसन डिस्ट्रिब्युसन) को परीक्षण सफल भएपछि लगानीकर्ता उत्साहित हुँदा सेयर मूल्यमा उछाल आएको हो ।

आयोजनाले गत हप्तादेखि बाइफर्केसन डिस्ट्रिब्युसनको परीक्षण शुरु गरेको थियो भने शनिबार परीक्षण सफल भएको जानकारी गराएको छ ।

आयोजनाको सबैभन्दा जटिल र संवेदनशील मानिएको यो पाइपको परीक्षण सफल भएपछि चैतभित्र बिजुली बाल्न सकिने आयोजनाले जनाएको छ । अब छिट्टै बिजुली निकालिने सम्भावना बढेसँगै लगानीकर्ता कम्प्नीको सेयरप्रति आकर्षित भएका छन् ।

आयोजनाको विद्युत्गृहमा ७६ मेगावाटका ६ वटा टर्बाइन रहेको छन् । ती मध्ये एउटा टर्बाइनबाट आगामी चैत्रभित्र बिजुली निकालिने आयोजनाले जनाएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी निर्माण शुरु भएको १ दशक बिते पनि अझै निर्माण पूरा हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here