एक वर्षमा ३३२ जना विदेशी नागरिक नेपालबाट निष्कासित, कुन देशका कति ?

सरकारविरुद्ध प्रदर्शन गरेको अभियोगमा पक्राउ परेका विदेशी नागरिक । फाइल फोटो

अर्जुन न्यौपाने

काठमाडौं, १० फागुन । सरकारले एक वर्षको अवधिमा ३३२ जना विदेशी नागरिकलाई निष्कासित गरेको छ ।

नेपालमा रही विभिन्‍न आपराधिक घटनामा संलग्‍न रहेका चीन, बंगलादेश,अफगानिस्तान,स्वीजरल्याण्ड,पाकिस्तान, बेलायत,अमेरिका, रसिया, जापान र अफ्रिकन लगायत मुलुकका नागरिक निष्कासित गरिएको अध्यागमन विभागले जनाएको छ।

विशेषगरी नक्कली राहदानी र प्रवेशाज्ञा (भिषा) प्रयोग गरी गैरकानुनी रुपमा नेपालमा बसेका विदेशी नागरिकलाई निष्कासित गरिएको अध्यागमन विभागका सूचना अधिकारी टेकनारायण पौडेलले क्लाउड पत्रिकालाई बताए। यो तथ्यांक २०७६ माघ महिनादेखि ७७ पुस महिना सम्मको हो । ।

निष्कासित हुनेमा कुन देशको कति ?

पौडेलका अनुसार निष्कासनमा पर्नेमा सबैभन्दा धेरै चिनियाँ नागरिक छन् । जसमा चीनको २५ जना, बंगलादेशको १८ जना, अमेरिकाको ८ जना, इरानको ७ जना, भियतनामको ७ जना रहेका छन् ।

त्यस्तै पाकिस्तानको ६ जना, भुटानको ६ जना, जर्मनीको २ जना, चिलीको २ जना, जोर्डनको ३ जना, नाइजेरियाको २ जना, रसियाको २ जना, सोमालियाको २ जना, स्वीजरल्याण्डको २ जना, थाइल्याडको ३ जना बेलायतको २, यमन ५ र अन्य देशको २२ जना रहेको छ ।

कुन फौजदारी कसुरमा कति निष्कासित ?

विभिन्न फौजदारी कसुरमा निष्कासित भएका विदेशी नागरिकमध्ये सबैभन्दा धेरै नक्कली राहदानी र प्रवेशाज्ञा (भिषा) प्रयोग गरी गैरकानुनी रुपमा नेपालमा बसेका छन् । त्यस कार्यमा निष्कासित हुनेको संख्या १६४ जना रहेका छन् ।

ओभरस्टे गरी निस्काशित हुनेको ९२ जना रहेका छन् । त्यस्तै, जाली राहदानीमा १३ जना र लागू औषध ओसार-पसारमा ९ जना, विना भिसामा नेपाल प्रवेश गर्ने ७ जना, आन्दोलनमा सहभागि हुनेमा ३ जना, खोटाचलन ३ जना , चोरी ३ जना रहेका छन् ।

त्यस्तै मानव बेचविखन तथा ओसारप्रसारमा संलग्न ३ जना राहादानी दुरुपयोग गर्नेमा ३ जना विदेशी मुद्रा विनिमय कसुरमा ३ जना सुन चोरी पैठारीमा ३ जना निष्कासित भएका छन् ।

कुन कसुरमा कस्तो कारवाही ?

यसरी निष्कासित हुने नागरिकलाई १ वर्षदेखि बढीमा १० वर्ष नेपाल प्रवेश गर्न नपाउने र जरिवाना समेत हुने पौडेलले जानकारी दिए ।

निष्काशन हुने व्यक्तिको हकमा कर्तव्य ज्यान सम्बन्धि मुद्धा, लागू औषध सम्बन्धि मुद्धा लागेमा १० वर्षसम्म नेपाल प्रवेश गर्न पाउँदैनन् । त्यस्तै, धर्म परिवर्तन गराएमा ५ वर्षसम्म प्रतिबन्ध लगाउन सकिने प्रावधान छ ।

बाल यौन दुराचारमा निष्कासित भएकाले ७ वर्ष, जाली भिसा नक्कली राहादानी प्रयोगमा निष्कासित भएकाले ५ वर्ष नेपाल प्रवेश गर्न नपाउने पौडेलले क्लाउड पत्रिकालाई बताए ।

विदेशी मुद्रा विनियम, मान्छे ओसार पसार, खोटा चलनमा निष्कासित भएकाले ३ वर्ष नेपाल प्रवेश गर्न पाउने छैनन् । ठगीमुद्दा, राजस्व चुहावटको २ वर्ष र निषेधित क्षेत्रको पदयात्रा गर्नेले १ वर्ष नोपाल प्रवेश गर्न नपाउने उनको भनाई छ ।

ओभरस्टे गरेका विदेशी नागरिकलाई सम्बन्धित देशमा फर्काउनुअघि नेपालले जरिवाना समेत तिराउँछ। यस्तो रकम सम्बन्धित दूतावासले नै तिर्ने गर्छ। यसरी जरिवाना रकम तिरेपछि मात्र उनीहरुले आफ्ना नागरिकलाई लैजान पाउँछन्‌।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here