सात महिनामा नेपालीले विदेशी रक्सीमा उडाए १ अर्ब ३० करोड

काठमाडौं, १३ फागुन । विभिन्न देशबाट आयात गरिएको रक्सी खाएरै नेपालीले गएको सात महिनाको अवधिमा १ अर्ब ३० करोडभन्दा धेरै रकम उडाएका छन् ।

भन्सार विभागको माघ महिनासम्मको तथ्यांक अनुसार पछिल्लो ७ महिनामा १ अर्ब ३० करोड रुपैयाँ बरारबको विदेशी रक्सी आयात भएको छ । यस समयमा झण्डै ४४ लाख लिटर रक्सी नेपाल भित्रिएको छ ।

तथ्यांक अनुसार सामान्य अल्कोहलको मात्रा भएको बियरदेखि धेरै अल्कोहल भएको ब्राण्डेड रक्सीसम्म नेपालमा आयात हुने गरेको छ । देशको कुरा गर्दा नेपालमा सबैभन्दा धेरै रक्सी मेक्सिकोबाट आयात हुने गरेको छ ।

यसबाहेक बेलायत, स्पेन, अमेरिका, भारत, जापान, जर्मनी, इटाली, नेदरल्याण्ड्स, रुस, पोल्याण्डलगायत ५० भन्दा धेरै देशबाट नेपालमा विभिन्न ब्राण्डका रक्सी आउने गरेका छन् ।

उक्त तथ्यांक अनुसार नेपालमा मदिरा पारखी बढेको हुन्छ । केही वर्ष अघिसम्म परिवार र आफन्तसँग लुकेर मदिरा खाने प्रचलन थियो । महिलाहरू मदिरा सेवन गर्दैनथे । तर, अहिले समय फेरिएको छ ।

परिवारसँगै बसेर पनि मदिरा सेवन गर्न थालिएको छ । मदिरा सेवनमा महिला पनि अगाडि सर्न थालेका छन् । उदार बनिरहेको नेपाली समाजमा यतिबेला मदिरा बिनाको भोज-भतेर अपूरो हुन थालेको छ । मदिरा सेवनकर्ता बढेपछि आयात पनि बढिरहेको छ ।

नेपालमा विभिन्न गुणस्तरका मदिरा उपलब्ध छन् । पाँचतारे होटेलदेखि भट्टी पसलसम्म मदिरा पाइन्छ । नेपाली आर्थिक हैसियतअनुसार मदिरा सेवन गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here