नेपालकै पहिलो खुलामूखी सामूहिक लगानी योजना आइतबारदेखि

काठमाडौं, १७ जेठ । एनआईबिएल एस क्यापिटल लिमिटेडले आइतबारदेखि नेपालकै पहिलो खुलामुखी योजना ‘एनआईबिएल सहभागिता फण्ड’ नामक सामूहिक लगानी कोष सञ्चालनमा ल्याउने भएको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट सामूहिक लगानी कोष नियमावली, २०६७ र सामूहिक लगानी कोष निर्देशिका, २०६९ लागू भएपछि नेपाल मै पहिलो पटक जारी हुन लागेको यो खुलामुखी योजनाको कोष प्रबद्र्धकमा नेपाल इन्भेष्टमेण्ट बैंक लि. रहेको छ भने योजना ब्यबस्थापकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

यस खुलामूखी योजना बमोजिम जम्मा रु. ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाईको लागि सेबोनबाट अनुमति प्राप्त भएकोमा पहिलो चरणमा रु. १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड २५ लाख इकाई सर्वसाधारणहरुमा जारी गरिने कम्पनीले बताएको छ ।

साथै, बीज पुँजीको रुपमा रु.७ करोड ५० लाख रुपैयाँ बराबरको ७५ लाख इकाई नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र एनआईबिएल एस क्यापिटल लिमिटेडले खरिद गर्नेछ ।

यस खुलामुखी योजनको लागि आवेदकहरुले आवेदन गर्दा न्यूनतम् १ सय र बढीमा २ लाख ५० हजार इकाईका लागि प्रति इकाई रु. १० का दरले भुक्तानी गरी आवेदन दिन सक्नेछन् ।

आवेदन दिनका लागि नेपालभर आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा सीडीएससीको मेरो शेयरबाट समेत दिन सकिनेछ । यस खुलामुखी योजनाको बिक्री खुल्ला मिति २०७६ जेष्ठ १९ देखि गरिने योजना ब्यबस्थापक एनआईबिएल एस क्यापिटलले बताएको छ ।

यस योजनाले नेपाल स्टक एक्सजेञ्ज लिमिटेडमा सूचिकृत धितोपत्रहरुका साथै मुद्दती निक्षेपमा लगानी गर्नेछ, जुन लगानीको व्यवस्थापन एनआईबिएल एस क्यापिटल लिमिटेडबाट हुनेछ । हाल जारी भएका इकाईहरु बांडफांट भएको मितिले ३ महिना पछि मात्र खरिद बिक्रीका लागि खुल्ला हुनेछन् ।

एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालय, नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका तोकिएका शाखा कार्यालय तथा अन्य तोकिएको वितरण केन्द्रबाट योजनाको इकाईहरु खरिदबिक्रीे गर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here