दार्चुलादेखि ताप्लेजुङ जोड्ने हिमालयन हरित पदमार्ग निर्माण हुने

काठमाडौं, १७ जेठ । सरकारले पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै सुदुर पश्चिमको दार्चुला देखि पूर्वको ताप्लेजुङ जोड्ने हिमालयन हरित पदयात्रा निर्माण गर्ने भएको छ ।

सरकारले आगामी वर्षको बजेटमा पूर्वदेखि पश्चिम पदमार्ग सञ्चालन गर्ने बताएको हो ।

त्यस्तै सरकारले आगामी वर्षको बजेटमा पर्यटन क्षेत्रमा २ अर्ब ६८ करोड रुपैयाँ छुट्याएको छ ।

नेपालमा पर्यटन क्षेत्रलाई एउटा ब्राण्डको रुपमा विकास गर्नको लागि पर्यटकीय स्थलहरुको प्रचार प्रसार, पहिचान भएका गन्तव्यहरुको पूर्वाधार निर्माणमा तीव्रता र थप नयाँ पर्यटकीय गन्तव्यस्थलको पहिचान, विकास तथा प्रवर्द्धन गर्ने सरकारको लक्ष्य रहेको छ ।

त्यस्तै प्रमूख पर्यटकीय स्थानलाई माइस पर्यटन स्थलको रुपमा विकास गर्न स्तरीय सडक, ठूला सभाहल तथा सम्मेलन केन्द्र जस्ता पूर्वाधारमा विकास गर्ने पनि सरकारको योजना रहेको छ ।

पर्वतीय पर्यटन, कृषि पर्यटन, ग्रामिण पर्यटन, जलयात्रा पर्यटन, धार्मिक साँस्कृतिक पर्यटन, खेल पर्यटन जस्ता क्षेत्रलाई समेटेर एकिकृत पर्यटन विकास गर्ने पनि सरकारले बताएको छ ।

नेपाल एकीकरणको क्रममा प्रयोग भएका ऐतिहासिक गढी, किल्ला र बाटोहरू संरक्षण गरी आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास पर्यटन क्षेत्रलाई सहयोग गर्ने लक्ष्य सरकारले लिएको छ ।

चालु आर्थिक वर्षमा पर्वतीय पर्यटन, कृषि पर्यटन, ग्रामिण पर्यटन, जलयात्रा पर्यटन, पर्या-पर्यटन, धार्मिक-साँस्कृतिक पर्यटन, खेल पर्यटन तथा स्वास्थ्य पर्यटन जस्ता क्षेत्रलाई समेटेर एकीकृत पर्यटन विकास गरिने र यो कामले नेपाल पर्यटन वर्ष २०२० लाई विशेष सहयोग पुग्ने अपेक्षा पनि लिईएको छ ।

रारा क्षेत्रलाई राष्ट्रिय पर्यटन गन्तव्यको रुपमा विकास गर्दै साहसिक पर्यटनलाई विश्वको ध्यान आकृष्ट हुने गरी प्रचारप्रसार गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here