एक हजार ट्यांकरमाथि कारबाही, पाँचजनाले आजीवन निगम प्रवेश गर्न नपाउने

काठमाडौं, १८ फागुन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको अपचलन गरेको पाइएपछि झन्डै एक हजार बढी ढुवानीकर्तालाई कारबाही गरेको छ ।

निगमसँगको करार सम्झौतामा सञ्चालनमा रहेका ट्रक तथा ट्यांकरले लकिङ तथा फिटिङमा कैफियत गरेको पाइएपछि पछिल्लो तीन महिनामा उनीहरूलाई कारबाही गरिएको हो ।

निगमको १ नं. प्रादेशिक कार्यालय विराटनगरले तोकिएको मापदण्डभन्दा बढी क्षति गर्ने ५३ ट्रक तथा ट्यांकरलाई कारबाही गरेको छ ।

लकिङ तथा फिटिङ चेक गर्दा गलत ढंगले पाइपलाइन ट्यांकीमा जडान गरिएको पाइएपछि उक्त ट्रकलाई प्रहरी हिरासतमा राखी कारबाही अगाडि बढाइएको १ नं प्रादेशिक कार्यालयले जनाएको छ ।

ट्यांकीको ताला काटिएको अवस्थामा फेला परेका ती ट्यांकरलाई तीन महिनाका लागि पेट्रोलियम पदार्थको आपूर्तिमा रोक लगाइएको छ ।

यस्तै पछिल्लो तीन महिनामा २ नं. प्रादेशिक कार्यालयले पनि १५० वटा ट्रक तथा ट्यांकरलाई कारबाही गरेको जनाएको छ ।

कार्यालयका अनुसार उनीहरूलाई १५ दिनसम्मका लागि ढुवानीमा निलम्बन गरिएको छ । निगमकै इतिहासमा यो सबैभन्दा ठूलो कारबाही भएको बताइएको छ ।

कार्यालयले पाँच चालक/सह-चालकलाई कालोबजारी मुद्दा दायर गरी आजीवन निगमको कुनै पनि डिपोमा प्रवेश गर्न नपाउने गरी निषेध गरेको छ ।

अनुगमनको क्रममा मिसावट र चोरी गरेको भेटिएपछि पाँच ट्यांकरलाई ६ महिनाका लागि ढुवानी गर्न निलम्बन गरिएको छ । निगमले पछिल्लो तीन महिनामा अनियमितता गर्ने ३०० ट्यांकर तथा ट्रकलाई कारबाही गरेको छ । निगमले जरिवानावापत ती ट्रक तथा ट्यांकरबाट १० हजार रुपैयाँ संकलन गरेको छ ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले निगम सुधारको रणनीति योजनाअन्तर्गत रहेर कालोबजारीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाइएको बताए ।

‘निगमको कदमले गैरकानुनी काम गर्ने निरुत्साहित हुनेछन्, यो निगमकै इतिहासमा एक महत्त्वपूर्ण कारबाही हो,’ उनले भने । अनियमित गर्ने ट्यांकरमाथि कारबाही गरेसँगै पेट्रोलियम पदार्थको चोरी र मिसावट नियन्त्रणमा आउने निगमले जनाएको छ । -रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here