ज्योति लाइफका प्रत्येक कर्मचारीको भागमा १ हजार १५ कित्ता आइपीओ !

काठमाडौं, १९ फागुन । ज्योति लाइफ इन्स्योरेन्सले प्राथमिक साधरण शेयर (आइपीओ) शुक्रबार देखि निष्कासन गर्दैछ ।

कम्पनीले यस अघि फागुन २३ गते आइतबारदेखि आइपीओ निष्कासन गर्ने तयारी गरेकोमा अब फागुन २१ गते शुक्रबारदेखि नै शेयर निष्कासन गर्न लागेको हो ।

आइतबारदेखि शेयर निष्काशन गर्दा सिडीएसको प्रणालीमा लोड भई ईडिआईएस गर्न समस्या हुने देखिएपछि मिति परिवर्तन भएको जनाएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आइपीओ जारी गर्न लागेको छ ।

कुल निष्काशित आइपीओमध्ये ५ प्रतिशत (३ लाख ३० हजार कित्ता) कर्मचारी र अर्को ५ प्रतिशत (३ लाख ३० हजार कित्ता) नै सामूहिक लागनी कोषहरुलाई छुट्याइएको छ । यस आधारमा इन्स्योरेन्सका प्रत्येक कर्मचारीले १ हजार १५ कित्ता आइपीओ पाउने छन् ।

हाल कम्पनीमा ३ सय २८ जना कर्मचारी रहेका छन् । ३ लाख ३० हजार कित्ता सेयर ३ सय २८ जना कर्मचारीलाई भाग लगाउँदा १ हजार १५ कित्ता शेयर भागमा पर्छ ।

बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् । लगानीकर्ताले फागुन २६ गतेसम्म आवेदन दिन सक्ने छन्।

फागुन २४ गते महिला दिवस र २२ गते शनिवारको सार्वजनिक विदा परेकोले कम्पनीको आईपिओ कुल ६ दिन बिक्रि खुला रहने छ ।

सो अवधिभित्र विक्री नभएका भने ढिलोमा चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।

यस अघिका आईपिओ पनि शुक्रबार नै बिक्रि खुला भएका थिए । सिडीएसले पछिल्लो समय आईपिओ बिक्रि खुला शुक्रबारदेखि गर्ने र बाँडफाँड पनि शुक्रबार नै गर्ने अभ्यास थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here