अन्नपूर्ण आधार शिविर जोड्ने वैकल्पिक पदमार्ग निर्माण शुरु, डेढ महिनामा १५ कीमीको लक्ष्य

म्याग्दी, १९ जेठ । अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने वैकल्पिक पदमार्ग निर्माण शुरु भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका र पर्यटन विभागको सहयोगमा नारच्याङदेखि आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु भएको हो ।

हाल सञ्चालनमा रहेको पदमार्ग कास्कीको अन्नपूर्ण गाउँपालिकामा रहेको छ ।

पदमार्ग निर्माणका लागि चालू आर्थिक वर्षमा पर्यटन विभागबाट रु २० लाख र गाउँपालिकाले रु तीन लाख विनियोजन गरेको छ ।

जोखिमपूर्ण अवस्थामा रहेको पदमार्गमा सहज र सुरक्षित आवतजावतका लागि स्तरोन्नति गर्न लागिएको उपभोक्ता समितिका अध्यक्ष मनबहादुर पुर्जाले बताए ।

हुमखोलादेखि आधार शिविरसम्म करीब १५ किलोमिटर पदमार्गलाई यसै आर्थिक वर्षभित्र फराकिलो बनाउने र सिँढी निर्माण गर्ने लक्ष्य छ । अक्करे पहाड काटेर मानिस हिँड्ने बाटो बनाइएको छ । कतिपय ठाउँमा काठमा टेकेर पहाड पार गर्नुपर्ने अवस्था छ ।

बस्तीदेखि टाढा र भौगोलिकरूपमा विकट ठाउँमा पदमार्ग बनाउन गाउँबाट आवतजावत सम्भव नभएकाले जङ्गलमै बास बसेर काम गरिएको मजदुर लालबहादुर शेरपुञ्जाले बताए ।

उपभोक्ता समितिमार्फत पदमार्ग निर्माणमा २९ मजदुर परिचालन भएका छन् । पर्यटकको सुविधा र गाउँको पर्यटन विकासका लागि दुखकष्ट सहेर पदमार्ग निर्माणमा जुटेको अर्का मजदुर केशमान पुर्जाको भनाइ छ ।

खाना र खाजा खाने समयबाहेक मजदुरहरु बिहान ६ देखि साँझ ६ बजेसम्म पदमार्ग बनाउन तल्लीन हुन्छन् । सन् १९५० को जुन ३ मा फ्रान्सका मौरिस हर्गाेजले पहिलोपटक आरोहण गरेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने पदमार्ग विसं २०६८ मा स्थानीयवासीको पहलमा पहिचान भएको हो ।

यसअघि पदमार्ग नहुँदा मुस्ताङको ताउलुङ हुदै पाँचदेखि सात दिन लगाएर जोखिमयुक्त बाटो भएर पर्यटक आधार शिविर पुग्ने गर्दथे । पदमार्ग खुलेपछि आरोही र पर्यटकका खाद्यान्न, बन्दोबस्तीका सामान भरियाले लैजान थालेका छन् । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here