एमाले शीर्ष नेताबीचको छलफल निष्कर्षविहीन

काठमाडौं, २ चैत । नेकपाका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीचको छलफल निष्कर्षविहीन टुंगिएको छ । सोमबार दुवै समूहबीच करिब २ घन्टा लामो छलफल चलेको छलफल निष्कर्षविहीन टुंगिएको हो ।

एमालेमा विवाद चर्किएको बेला ओली र नेपालबीच दोस्रो तहका नेताहरुलाई साथमा लिएर करिब ४ महिनापछि भेटवार्ता भएको थियो ।

बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै एमाले नेता भीम रावलले आफूहरूले फागुन २८ गते ओली पक्षले गरेको निर्णय नमान्ने अडान राखेको बताए। तर, त्यसमा ओलीले कुनै जवाफ नदिएको उनको भनाइ छ।

त्यस्तै नेपाल पक्षका नेता रघुजी पन्तले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए। ‘वार्ता सौहार्यदपूर्ण भयो। सकरात्मक भयो। एकअर्काका कुरा सुन्ने, बुझ्ने काम भयो,’ उनले भने, ‘हामीले आफ्ना अडान राख्यौं। अब प्रधानमन्त्रीले यसलाई सकारात्मक तरिकाले अगाडि बढाउनुहुन्छ भन्ने अपेक्षा लिइएको छ।’

प्रधानमन्त्री ओलीले छलफलका लागि नेपाल पक्षलाई बालुवाटार बोलाएका थिए । तर, नेपाल पक्षले बालुवाटार नजाने अडान लिएपछि प्रधानमन्त्री ओली धुम्वाराही आएका थिए।

पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा प्रधानमन्त्री ओलीसहित ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ सहभागी भएका थिए।

अर्को समूहबाट नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, र रघुजी पन्तलगायत सहभागी भएपनि वरिष्ठ नेता झलनाथ खनाल भने उपस्थित भएनन्।

दुई पक्षको छलफल सकिएपछि पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच एक्लाएक्लै भेटवार्ता शुरु गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here