लुम्बिनीमा विश्व वौद्ध प्रदर्शनी पार्कको अध्ययन गर्न अनुमति

काठमाडौं, १९ जेठ । लगानी बोर्डले लुम्बिनीमा विश्व वौद्ध प्रदर्शनी पार्कको निर्माण तथा सञ्चालनका लागि प्रस्तावक कम्पनी सिल्क रोड इण्टरनेशनल होल्डिङ कम्पनीलाई अध्ययनको अनुमति दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आइतवार साँझ बसेको बोर्डको ३८ औं बैठकले सरकारलाई कुनै आर्थिक दायित्व नपर्ने गरी सिल्क रोडलाई अध्ययन अनुमति दिएको हो ।

त्यसैगरी, बोर्डले फ्ल्यास फ्रेट लजिस्टिक कम्पनीलाई वीरगञ्ज र भैरहवामा प्राइभेट फ्रेट टर्मिनल तथा बल्क ह्याण्डलिङ सुविधा निर्माण परियोजनाको संभाव्यता अध्ययनका लागि अनुमति प्रदान गरेको बोर्डका उपसचिव राजु गुरागाईंले जानकारी दिए । ती दुई परियोजनाको कुल लागत ६ अर्ब ५१ करोड रुपैयाँ छ ।

यसका साथै, बोर्डले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५ को प्रभावकारी कार्यान्वयनका लागि मस्यौदा गरिएको सार्वजनिक निजी साझेदारी तथा लगानी नियमावली २०७६को मस्यौदालाई स्वीकृतिका लागि मन्त्रीपरिषदमा पेश गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा बोल्दै प्रम ओलीले देशमा द्रुत आर्थिक विकासका लागि ठूला परियोजनाहरुको कार्यान्वयन तीव्र गतिमा हुनु पर्नेमा जोड दिए । यसका लागि सम्बन्धित निकायहरुवीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here