दूधमा आत्मनिर्भर बन्न प्रतिव्यक्ति १३ लिटर अपुग, दानाको ७० प्रतिशत कच्चा पदार्थ विदेशबाटै

काठमाडौं, १२ चैत । सरकारले पशुपक्षीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गरेको छ ।

बिहीबार उपत्यकामा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले धुलो दूध, बटर, अन्डा र मासुजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा गरेका हुन् । तर दूधमा आत्मनिर्भर हुन वार्षिक प्रतिव्यक्ति न्यूनतम ९१ लिटर आवश्यक पर्नेमा नेपालमा ७९ लिटरमात्र उपलब्ध छ ।

दूधमा आत्मनिर्भर हुनको लागि विश्व खाद्य तथा कृषि सङ्गठनको सिफारिस अनुसार दैनिक प्रतिव्यक्ति २५२ मिलि अर्थात् वार्षिक ९१ लिटर प्रतिव्यक्ति आवश्यकता देखिन्छ ।

नेपालमा हाल दूधको उत्पादन २२ लाख ६८ मेट्रिक टन रहेकामा गाईको दूधको हिस्सा लगभग ३० देखि ३५ प्रतिशत र भैँसीको ६५ प्रतिशत रहेको जनाइएको छ ।दूधमा आत्मनिर्भर नजिक पुगे पनि पूर्णरुपमा भइनसकेको अवस्था छ ।

नेपालमा ठुला दुग्ध प्रशोधन उद्योग चार, मझौला ३०, साना ५० र घरेलु तथा साना गरी ५०० भन्दा बढी दूध उत्पादन गर्ने क्षमताका डेरी रहेको संघको तथ्याङक छ ।

दुग्ध क्षेत्रको मात्र कूल राष्ट्रिय उत्पादनमा नौ प्रतिशत योगदान रहेको र दैनिक रु पाँच करोड तथा वार्षिक रु १२ अर्ब सहरबाट गाउँतर्फ नगद प्रवाह भइरहेका कारण दुग्ध उत्पादन व्यवसाय ग्रामीण स्वरोजगारको मुख्य अङ्ग बनेको बताइन्छ।

नेपालमा भारत तथा तेस्रो मुलुकबाट करिब रु दुई अर्बभन्दा बढीको दूध र दुग्धजन्य पदार्थ आयात भइरहेको छ।

घोषणा कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री पद्‍माकुमारी अर्यालले सरकारले थप कृषि उपजमा पनि आत्मनिभरता घोषणा गर्ने बताइन् । आगामी पाँच वर्षमा धेरै कृषि उत्पादनमा आत्मनिर्भर भएर मुलुक निर्यातको अवस्थामा पुग्ने उनको दावी छ ।

त्यस्तै कुखुरा तथा गाइवस्तुको दानाको कच्चा पदार्थ अहिले पनि विदेशबाटै आयात गर्नुपर्ने अवस्था छ । हुयाचरी संघको अनुसार प्रतिदिन ३ हजार मेट्रिकटन दाना आवश्यक पर्ने र सो नेपालमै उत्पादन भए पनि दाना बनाउन कच्चा पदार्थभने विदेशबाटै ल्याउनु पर्ने अवस्था छ ।

दानाका लागि मकै र भटमासको पिना आयात गरिने गरेको छ । दाना बनाउन आवश्यक ७० प्रतिशतबढी पिना अहिले पनि विदेशबाटै आयात भइरहेको छ । दाना बनाउन वर्षेनी १० अर्ब रूपैयाँ बढीको कच्चा पदार्थ आयात हुँदै आएको छ ।

दाना, मासु, दूध लगायत वस्तु आयात गर्नुपर्ने अवस्था छ । हाल यी वस्तुमा करिब ९० प्रतिशतभन्दा बढी आत्मनिर्भर रहे पनि पूर्णआत्मनिर्भर हुन सकेको छैन ।

प्रत्येक नेपालीलाई प्रतिवर्ष आवश्यक पर्ने ४८ वटा अण्डामध्ये नेपालको उत्पादन प्रतिव्यक्ति ५५ वटा पुगेको छ । मासु प्रतिव्यक्ति प्रतिवर्ष १४ किलो आवश्यक पर्नेमा नेपालको उत्पादन १८ किलोसम्म रहेको सरकारी तथ्यांकको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here