काठमाडौंका धारामा मेलम्चीको पानी, अझै दैनिक ३१ करोड लिटर अपुुग

काठमाडौं, १५ चैत । काठमाडौँ उपत्यकावासीले प्रतीक्षा गरेको मेलम्चीको पानी आजदेखि उपभोक्ताको घरघरमा पुग्दै छ ।

आइतबारदेखि वितरण हुने पानी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेल) को पुरानै प्रणालीबाट वितरण गरिन लागेको छ ।

अनामनगर क्षेत्रका नयाँ लाइन जोडिएका १६ सय धारामा पाइलट प्रोजेक्टका रुपमा चौबिसैघण्टा पानी उपलब्ध गराइने भएको छ ।

तीबाहेक अन्यत्र भने चौबिसैघण्टा पानी वितरण गर्न नसकिने आयोजनाले जनाएको छ ।

गत फागुन २२ गते सुन्दरीजलको प्रशोधन केन्द्रमा हालिएको पानी शुक्रबारदेखि विभिन्न स्थानमा बनाइएका वितरण केन्द्रमा पठाइएको थियो ।

पहिलो दिन चार करोड लिटर पानी पुरानो वितरण प्रणालीमार्फत उपभोक्ताको घरघरमा पठाइने छ ।

आइतबार खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी भरेर वितरण सुरु गरिने मेलम्ची खानेपानी उप आयोजना–२ आयोजना निर्देशनालयले जनाएको छ ।

गत फागुन १० गते परीक्षणका लागि मुहानबाट सुरुङमा छाडिएको पानी झन्डै २७ किलोमिटर सुरुङ पार गर्दै १२ दिनपछि सुन्दरीजलमा आइपुगेको थियो ।

काठमाडौँ उपत्यकामा हाल दैनिक ४३ करोड लिटर खानेपानी माग रहेकोमा ३१ करोड लिटर अपुुग छ । मेलम्ची खानेपानी आयोजनाकै दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको पानी उपत्यकामा भित्राउने लक्ष्य छ । यो आयोजनाको अहिलेसम्मको ३१ अर्ब ३६ करोड रुपियाँ खर्च भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here