दुई ब्रुमर थप्दै काठमाडौं, चीनको छिन्दु नगरले अनुदानमा दिने

काठमाडौं, २१ जेठ । काठमाडौँ महानगरपालिकाले आगामी असारदेखि सञ्चालन गर्ने गरी चीनबाट थप दुई बु्रमर (यान्त्रिक कुचो) ल्याउने भएको छ । गत फागुनको अन्तिम साता इटालीबाट ल्याइएको पाँच यान्त्रिक कुचो अपुग भएपछि बढाउन लागिएको हो । चीनको छिन्दु नगरले कामपालाई अनुदानमा सो यान्त्रिक कुचो दिन लागेको हो ।

ढिलोमा आगामी साता काठमाडौँ आइपुग्ने ती यान्त्रिक कुचो युरो–४ मापदण्डको रहेको र तिनको लम्बाइ ८.६ मिटर र चौडाइ ३.५ मिटर छ । कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले १५.८ मेट्रिक टन तौल भएका ती यान्त्रिक कुचो उपत्यका आएपछि सञ्चालनको मार्ग निर्धारण गरिने जानकारी दिए ।

हाल महानगरले पाँच यान्त्रिक कुचो उपत्यकाका मुख्य सडक सफा गर्नका लागि प्रयोग गर्दै आएको छ । पाँचमध्ये चार १६ टन क्षमताका तथा अर्को एउटा छ टन क्षमताका छन् ।

ती यान्त्रिक कुचोले दिनमा १० किलोमिटरसम्मको धूलो सङ्कलन गर्न सक्छ । युरो मापदण्डका भनिएका यान्त्रिक कुचोको अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहित धूलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएको छ ।

पछिल्लो समय बिकास निर्माणको काममा तीव्रता आई धूलो बढिरहेका अवस्थामा ती ब्रुमरले प्रदुषण क मगर्न ठूलो सहयोग पुग्ने विश्वास कामपाले लिएको छ । कामपाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार उक्त यन्त्रले नियमित सफा गर्ने भनिए पनि वर्षातको समय शुरु भएकाले नियमितरूपमा सफा गर्न भने सकेको छैन । हाल कामपाले दैनिक आठ घण्टा ब्रुमर प्रयोग गर्दै आएको छ ।

ती पाँच यान्त्रिक कुचो रु १० करोड ८० लाखमा ल्याइएको हो । यसअघि विशिष्ट व्यक्तिको आवतजावत रहेका बेला सडक विभाग र महानगरपालिकाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई यान्त्रिक कुचोले सडक सफा गर्दै आएको थियो ।

यसअघि रहेको एक यान्त्रिक कुचो काम नलाग्ने अवस्थामा रहेको कामपाले जनाएको छ । यी बु्रमर सञ्चालनका लागि हाल पाँच सडक क्षेत्र तय गरिएको छ । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here