त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको ‘रिमोट पार्किङ वे’ आजदेखि सञ्चालनमा

विमानस्थल प्रवेशद्वार

काठमाडौं, २१ जेठ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा निर्माण गरिएको ठूला जहाज पार्किङ गर्न मिल्ने नयाँ पार्किङस्थल ‘रिमोर्ट पार्किङ वे’ आज मंगलबारदेखि सञ्चालनमा आएको छ ।

विमानस्थलको क्षमता विस्तार गर्ने क्रममा उत्तरपूर्वी क्षेत्रमा नयाँ पार्किङ वे बनाइएको हो । उक्त पार्किङ क्षेत्रमा वाइडबडी क्षमताका दुई र न्यारो बडी क्षमताका तीन वटासम्म जहाज पार्किङ गरेर राख्न सकिन्छ ।
नयाँ पार्किङ आजैदेखि सञ्चालनमा ल्याइएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । नयाँ पार्किङसहित आन्तर्राष्ट्रिय पार्किङ वे को संख्या ११ पुगेको छ ।

महाप्रबन्धक क्षेत्रीले पार्किङ क्षेत्र निर्माण भएसँगै विमानस्थलको चाप व्यवस्थापनमा सहज हुने बताए । यसअघि पार्किङको समस्याका कारण पनि जहाजलाई आकाशमा फन्को लगाउनु पर्ने अवस्था आइरहेको थियो ।

उनका अनुसार रु ४० करोड ५० लाखको लागतमा झण्डै १६ महीनाको अवधिमा पार्किङ क्षेत्र बनाइएको हो । एक मात्र धावनमार्ग र पर्याप्त पार्किङ वेको अभावमा त्रिभुवन विमानस्थलमा बढी ट्राफिक चाप पर्दै आएको छ । विमानस्थलको दक्षिणपूर्वी क्षेत्रमा समेत नयाँ पार्किङ वे निर्माण भइरहेको छ । यसमा पनि दुई वाइडबडी जहाज राख्न सकिने विमानस्थलले जनाएको छ ।
\
सामान्यतया अन्तरराष्ट्रिय विमानस्थलमा कुनै जोखिमपूर्ण विस्फोटक पदार्थ बोकेको वा अपहरणकारीले कब्जा गरेको जहाज अवतरण गराउन मुख्य पार्किङ क्षेत्रभन्दा केही पर रिमोट पार्किङ वे बनाइएको हुन्छ । त्यहाँ जहाज राख्नुको मतलब सम्भावित क्षति न्यूनीकरण गर्नु हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक यस्तो पार्किङ क्षेत्र बनाइएको हो ।

यसका साथै, नेपालको अन्तरराष्ट्रिय विमानस्थलको इतिहासमै पहिलो पटक धावन मार्ग पूर्णरुपमा मर्मत (रनवे रिह्याब) को काम पनि तीव्र गतिमा भइरहेको छ । धावनमार्ग मर्मतको ६० प्रतिशत काम सम्पन्न भएको महाप्रबन्धक क्षेत्रीको भनाइ छ ।

गत चैत १८ देखि राति १० बजेदेखि बिहान ८ बजेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गरेर मर्मतको काम गरिँदै आएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३१ वाट वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् । आन्तरिकतर्फ १० हेलिकोप्टरसहित २० वटा वायुसेवा प्रदायक कम्पनीले सेवा दिइरहेका छन । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here