बिमा पहुँच साढे १४ प्रतिशत पुग्यो

क्लाउडपत्रिका

काठमाडौं । मुलुकको कुल जनसंख्यामध्ये करिब साढे १४ प्रतिशतमा मात्र जीवन बिमा पहुँच पुगेको छ । यसको अर्थ करिब ८६ प्रतिशत नागरिक अझै पनि बिमा पहुँचबाट बञ्चित छन् भन्ने हो ।

करिब २ वर्षअघि यस्तो अनुपात ८ प्रतिशत थियो । बिमा कम्पनीले जारी गरेको कुल बिमा पोलिसीलाई सोही समयको कुल जनसंख्याले भाग गरेर बिमा पहुँच अनुपात निकालिएको हो । सो गणनामा वैदेशिक रोजगारीमा गएकाहरूको बिमालाई पनि समेटिएको छ । हाल वैदेशिक रोजगारीमा जाँदा अनिवार्य रूपमा बिमा गर्नुपर्ने व्यवस्था सरकारले गरेको छ । गत आर्थिक वर्षसम्म करिब ११ लाख ८५ हजार ५ सय ८४ वैदेशिक रोजगार बिमालेख जारी भएका छन । यी पोलिसीलाई समावेश नगर्दा पनि करिब साढे १० प्रतिशतमा जीवन बिमा पहुँच पुगेको देखिन्छ ।

गत आर्थिक वर्षसम्म २८ लाख ८८ हजार ७ सय २० वटा जीवन बिमा पोलिसी जारी भएको समितिको तथ्यांक छ । ‘केही वर्षयता बिमा बजार तरंगित भएको छ,’ बिमक संघका पुर्वअध्यक्ष विजयबहादुर शाहले भने, ‘यसकारण बिमा पहुँच पनि बढ्दो छ ।’

नयाँ कम्पनीको आगमन र पुँजी वृद्धिको चापले बिमा कम्पनीले आक्रामक रूपमा व्यवसाय विस्तार गरिरहेको शाहले बताए । ‘कम्पनीले पुँजी वृद्धिलाई जस्टिफाई गर्नुपर्ने हुन्छ, यसकारण बिमा विस्तार झनै बढ्छ,’ उनले भने, ‘अब कम्पनीहरूले बजारमा नयाँनयाँ प्रडक्ड लिएर आउँछन ।’

पछिल्ला वर्षहरूमा बिमा क्षेत्र निकै उत्साहित भएको नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक झाले बताए । ‘तीन–चार वर्षयता राम्रो पिकअप लिएको छ,’ उनले भने, ‘आउँदा वर्षहरूमा वृद्धिदर झनै बढ्छ ।’

कम्पनीहरूको पुँजीगत आधार बलियो भएको, बजारमा नयाँ कम्पनी थपिएको, प्रतिस्पर्धा बढेकोलगायत कारणले आउँदा दिनमा बिमा क्षेत्रको विस्तार राम्रो हुने उनको आँकलन छ । बजारमा प्रतिस्पर्धा बढेसँगै सेवाको गुणस्तर पनि बढेको जानकारहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here