जल क्षेत्रको पर्यटन र सहासिक खेलबारे छलफल सम्पन्न

काठमाडौं, २१ जेठ । साहसिक खेल तथा जल पर्यटनका सरोकारवालाहरुले नेपालमा जल पर्यटनको सम्भावना भए पनि राज्यले परम्परागत पर्यटन प्रवद्र्धनमा मात्र ध्यान दिएको र वास्तविक संभावनाहरुको वारे गम्भीर नभएको बताएका छन् ।

नेपाल वाटर स्पोर्ट एण्ड पावर बोट एसोसिएसनको आयोजनामा मंगलबार काठमाडौंमा आयोजित अन्तरक्रियामा बोल्दै उनीहरुले यस्तो धारणा व्यक्त गरेका हुन् ।
हरेक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवसको सन्दर्भमा सो अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

सांसद भवानी खापुङले नेपालमा जल पर्यटनको क्षेत्रमा अथाह सम्भावना भए पनि त्यसको खोजी नभएको बताए । यसका लागि सरोकारवाला सरकारी तथा गैरसरकारी निकायलाई सम्भावनाको खोजीका लागि पहल गर्न पनि उनले आग्रह गरे ।

हेर्दा सामान्य लाग्ने तर ठूलो सम्भावना बोकेको यो क्षेत्रलाई निकै चासोका साथ संसदीय समिति र अन्य क्षेत्रमा नीतिगत हिसावले उठाउने प्रतिवद्धता समेत खापुङले ब्यक्त गरे ।

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले सम्भावना भएका र साहसिक तथा पर्यटकीय खेलकुदको विकासका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्दै आगामी दिनमा यो क्षेत्रमा सहकार्य गर्न सकिने बताए ।

त्यसै गरी सामुदायिक वन उपभोक्ता महासंघ नेपालका महासचिव विर्षबहादुर शाहीले नेपालको पर्यटन प्रवद्र्धनको लागि वन क्षेत्रको महत्वपूर्ण भूमिका रहे पनि पुराना ऐन, नियम, कानुन बन, प्रकृति र पर्यटनको लागि सहयोगी नभएकाले त्यसको शंशोधन गरी वन क्षेत्रवाट पर्यटनको प्रवद्र्धन गर्न आफूहरु तयार रहेको बताए ।

माउन्टेन स्पोर्ट एसोसिएसनका अध्यक्ष एवं पर्यटनविद् गोविन्द भट्टराई र पावर बोट एसोसिएसनका महासचिव सन्तोष न्यौपानेले नेपालमा जल क्षेत्रको अवस्था र सम्भावना वारेमा प्रस्तुतिकरण गरेका थिए ।

नेपालमा जल क्षेत्रको अध्ययन र विश्वब्यापी सम्भावना खोजी, आवश्यक कामको सहजीकरण र प्रवद्र्धन गर्नको लागि नेपाल वाटर स्पोर्ट एन्ड पावर बोट एसोसिएसन हालै गठन भई नासा फाउन्डेसन, माउन्टेन स्पोर्ट एसोसिएसन, राष्ट्रिय खेलकुद परिषद् लगायत क्षेत्रसँग जल र सहासिक खेलमा सहकार्य गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here