घटेन बार फोनको माग, वार्षिक कति भित्रन्छ ?

काठमाडौं, ४ बैशाख । इन्टरनेटको प्रयोग र माग बढीरहेको परिस्थितीमा पनि बार फोनको माग भने उच्च नै रहेको छ ।

नेपाल मोबाइल वितरक संघका केन्द्रिय अध्यक्ष दिनेश चुल्याद्योका अनुसार स्मार्ट फोनको माग र आयातमा उल्लेख्य वृद्धि भएपनि बार फोनको मागमा पनि खासै कमी आएको छैन ।

‘स्मार्टफोन शहर केन्द्रित रहेपनि गाउँमा अझैपनि बार फोनको नै माग उच्च छ ।’ अध्यक्ष चुल्याद्याले क्लाउड पत्रिकासँग भने, ‘केही वर्ष अघिसम्म वार्षिक १० लाख थानसम्म बारफोन भित्रिने गरेको अहिले पनि त्यसकै हाराहारीमा बार फोन भित्रिने गरेको तथ्यांकले देखाउछ ।’

वार्षिक ९ लाख भित्रिन्छन्

अध्यक्ष चुल्याद्याका अनुसार अझैपनि वार्षिक ९ लाख थान बार फोन नेपाल भित्रिने गरेका छन् ।

अध्यक्ष चुल्याद्याले भने, ‘हाम्रो पछिल्लो तथ्यांकले अझैपनि वार्षिक ९ लाख थान बार फोन नेपाल भित्रिने गरेको देखाउँछ । त्यसकारण पनि बारफोनको माग घट्यो वा आयात कम भयो भन्न मिल्दैन ।’

फोन गर्ने, उठाउने, टेक्स्ट म्यासेज, एफएम सुन्न तथा रातको समयमा टर्च लाइटको प्रयोग मात्रै गर्नका लागि हो भने बार फोन उपयुक्त भएको प्रयोगकर्ता दिपक घिमिरेले क्लाउड पत्रिकालाई बताए ।

मासिक ३ अर्बको स्मार्टफोन भित्रिन्छन्

नेपालमा मासिक ३ अर्ब रुपैयाँसम्मको स्मार्टफोन आयात हुने गरेको गरेको अध्यक्ष चुल्याद्या बताउँछन ।

‘नेपालमा मासिक २ देखि ३ अर्ब रुपैयाँ बराबरको स्मार्टफोन आयात हुने गरेको छ ।’ उनले भने ‘त्यसमा सामसुङ र शाओमीको फोनको आयात सबैभन्दा धेरै छ ।’

नेपालमा बिक्री हुने कुल फोनको ३५ प्रतिशत सामसुङ रहेको छ भने ३२ प्रतिशत हिस्सा शाओमीको छ । पछिल्लो समय शाओमीको स्मार्टफोन बिक्रिको दर निकै आक्रमक रहेको अध्यक्ष चुल्याद्या बताउँछन् ।

‘शाओमीको फोन बिक्रीको दर निकै आक्रमक रुपमा अघि बढेको छ । २ वर्ष अघिसम्म कुल बिक्रीदरको १२ प्रतिशत मात्रै रहेको शाओमीको बिक्री दर अहिले ३२ प्रतिशत पुगेको छ ।’ अध्यक्ष चुल्याद्याले भने, ‘शाओमीको फोन अत्याधिक मन पराईनुमा यसको फिचर्स राम्रो हुनु र मूल्य पनि कम हुनु हो ।’

नेपालमा १५ देखि ३० हजार रुपैयाँसम्मका स्मार्टफोनको माग उच्च रहने गरेको अध्यक्ष चुल्याद्या बताउँछन् ।

आठ महिनामै ५० लाख मोबाइल नेपाल भित्रिए

भन्सार विभागको फागुन मसान्तसम्मको तथ्यांक अनुसार ४९ लाख ९३ हजार मोबाइल नेपाल भित्रिएको छ । ४९ लाख ९३ हजार मोबाइल नेपाल भित्रिदा २६ अर्ब ३० करोड ५४ लाख हजार रुपैयाँ बाहिरिएको छ ।

जसमा सबैभन्दा धेरै चीनबाट ४१ लाख २२ हजार, ६ लाख ४९ हजार वटा मोबाइल आयात भए । यी देशका अलवा भियतनाम, बेलायत, अमेरिका, यूएई, कतार, बहराइन, अमेरिका, जापान, कोरियाबाट पनि नेपालमा मोबाइल आयात हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here