यसरी भयो धरहरा उद्घाटन, अझै ८ महिना सर्वसाधरणको पहुँच बाहिर

काठमाडौं, ११ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनधारामा नवनिर्मित धरहराको उद्घाटन गरेका छन्। शनिबार प्रधानमन्त्रीले धरहरामा राखिएको शिलापत्र अनावरण गरी धरहराको उद्‍घाटन गरेका हुन्।

२०७२ वैशाख १२ गते गएको भूकम्पले धरहरा भत्किएको थियो। ६ वर्षपछि यसको पुनर्निर्माण गरिएको छ। पुनर्निर्माण गरिएको धरहरा २२ तलाको छ। यसअघि नौ तलाको रहेको थियो।

धरहरा पुनर्निर्माणमा तीन अर्ब ४८ करोड खर्च भइसकेको छ। अझै केही काम बाँकी रहेको पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

यद्यपि उद्घाटन भएपनि धरहराको पुनर्निर्माण सकिएको भने छैन । हालसम्म धरहराको निर्माणको कुल ६० प्रतिशत काम मात्र सम्पन्न भएको छ । अबको ८ महिनामा धरहरा निर्माण सम्पन्न गरी हस्तान्तरणा गर्ने योजना पुनर्निर्माण प्राधिकरणको रहेको छ ।

हालसम्म धरहरा पूरै ठडिइसकेको भएपनि अझै गर्नु पर्ने धेरै काम बाँकी नै रहेका छन् । ट्रिपल बेसमेन्ट, साइट पार्किङ, फिनिसिङ लगायतका धेरै काम अझै बाँकी रहेको पुनर्निर्माण प्राधिकरणले जनाएको छ । आगामी मंसिरदेखि मात्र औपचारिक रुपमा सर्वसाधरणलाई चढ्न खुला गरिने जनाइएको छ ।

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ पुस १२ गते धरहरा पुर्नर्निर्माण शिलन्यास गरेका थिए । साविकको धरहरा रहेको स्थान सुन्धारामा करिब ४२ रोपनी क्षेत्रफलमा अहिले धरहरा निर्माण भइरहेको छ ।

पुनर्निर्माण प्राधिकरणले १२ वैशाखमा भत्किएको धरहराको ठुटोलाई सिसाले छोपेर म्युजिएमको रूपमा प्रयोग गर्नेगरी संचालनमा ल्याउने जनाएको छ । हाल बनेको धरहरा पहिलाको भन्दा १० मिटर पर रहेको छ ।

भूकम्पपछिका चार वर्ष विवादमै रहेको धरहरा निर्माणको लागि प्रधानमन्त्री ओलीले ‘मै बनाउँछु, मेरो धरहरा’ भन्ने नारा सहितको अभियान समेत चलाएका थिए । अभियानको गति त्यति प्रभावकारी हुन नसकेपछि पुनर्निर्माण प्राविधिकरणलाई जिम्मा दिएको थियो ।

पुननिर्माण प्राधिकरणले जिम्मा पाएपछि निर्माण तिव्रताका साथ अघि बढेको छ । वि.सं.१८८२ मा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरा सुन्दरी देवीको सम्झना स्वरुप बनाएको उक्त धरहरा त्यसको १ सय ८ वर्षपछि वि.स. १९९० को भूकम्पले भत्किएको थियो ।

त्यसपछि तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले भूकम्पले ढलेको दुई वर्षमै मौलिक स्वरूपमा धरहराको पुनर्निर्माण गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here