भूकम्पपछिको पुनर्निर्माणमा ६ खर्ब ८५ अर्ब खर्च, ७ लाख घर बन्दै

काठमाडौं, १२ बैशाख । भूकम्पबाट क्षति भएकामध्ये ५ लाखभन्दा बढी निजी आवासको पुनर्निर्माण सम्पन्न भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुसार हालसम्म ५ लाख ९३ हजार २९३ घर निर्माण सम्पन्न भएको हो ।

७ लाख ५३ हजार ५३ घर बन्दै गरेको छ । ६ वर्षको अवधिमा भत्किएका संरचना पुनर्निर्माणमा मात्र कुल ६ खर्ब ८५ अर्ब ९० करोड ९५ लाख २७ हजार रुपैयाँ बराबरको खर्च भएको छ ।

पुनर्निर्माण प्राधिकरणका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को गत चैत मसान्तसम्म सो रकम खर्च भएको हो ।

प्राधिकरणका अनुसार आव २०७५/७६ मा ८९ अर्ब ४३ करोड ७६ लाख १४ हजार र आव २०७६/७७ मा ५२ अर्ब ४९ करोड ३३ लाख ५९ हजार बराबरको खर्च भएको थियो ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको १० लाख ३७ हजार २९१ घरको सर्वेक्षण गरिएकामा आठ लाख ६६ हजार ६० भूकम्पपीडित लाभग्राही सूचीमा समावेश भएका थिए ।

लाभग्राही सूचीमा समावेश भएकामध्ये ६५ हजार १६३ प्रवलीकरण गर्ने गरी प्रमाणीकरण गरिएको छ । हालसम्म ८ लाख ७ हजार ७६४ लाभग्राहीले अनुदान सम्झौता गरिसकेका छन् ।

जसमा ८ लाख १० हजार ६३५ लाभग्राहीले पहिलो किस्ताको रु ५० हजार लिएका छन् । जग निर्माण सम्पन्न गरी छ लाख ९५ हजार ५७६ जनाले दोस्रो किस्ता लिएका छन् । घर निर्माण सम्पन्न गरी छ लाख ३४ हजार ३७ ले तेस्रो किस्ता अनुदान लिएको प्राधिकरणले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here