७२३ जनाले लिए हिमाल आरोहण अनुमति‚ ५३ करोड रोयल्टी संकलन

फाइलफोटो

काठमाडौं, १५ बैशाख । कोभिड–१९ महामारीको प्रतिकूल परिस्थितिका बावजुद पनि सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न हालसम्म ७२३ जना आरोहीले आरोहण अनुमति लिएका छन्।

यस पटकको वसन्त याममा हिमाल आरोहणको अनुमति दिँदा ५३ करोडभन्दा बढी रोयल्टी संकलन भएको विभागको पर्वतारोहण शाखाले जनाएको छ । विभागले २०७७ चैत २ गते देखि हिमाल आरोहणको लागि अनुमति दिन सुरु गरेको थियो ।

रोयल्टी जम्मा भएका हिसाबले पनि सन् २०२१ को वसन्त आरोहण उत्साहवद्र्धक देखिएको छ । सन् २०१९ मा वसन्त यामको आरोहणबाट ५१ करोड रोयल्टी जम्मा भएको थियो ।

महामारीकै कारण अघिल्लो वर्षको वसन्त याममा पर्वतारोहण र पदयात्राले असर बेहोरेको सन्दर्भमा यस यामको हिमाल आरोहणले पर्यटन क्षेत्रमा उत्साह जगाएको छ।

विभागले आरोहण अनुमति दिएका हिमालमध्ये सबैभन्दा बढी सगरमाथा आरोहणका लागि छ। विभागले हालसम्म सगरमाथा, अन्नपूर्ण, मकालु, मनास्लु, धौलागिरि, ल्होत्से, पुमरी, नुप्से र टुकुचे हिमाल आरोहण गर्ने आरोहण अनुमति दिएको छ।

विभागका अनुसार सगरमाथाका लागि ४२ सहित ८२ आरोही समूहका ७२३ आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथापछि सबैभन्दा बढी ल्होत्से हिमाल आरोहणका लागि १३ आरोही समूह छन् । धौलागिरिमा पाँच र अन्नपूर्ण हिमालमा आठ आरोही समूहले आरोहणको अनुमति पाएका छन् ।

कोभिड महामारी जोखिमका बीच आरोहण अनुमति जारी हुनु र यसमा पनि विशिष्ठ पाहुनाको आरोहणले नेपालको साहसिक पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन सहयोग पुग्ने अपेक्षा विभागले लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here