आँटाको मुल्य केजी मै ५ रुपैयाँ बढ्न सक्ने, भ्याट फिर्ता गर्न उद्योगीको माग

काठमाडौं, २४ जेठ । मैदा उद्योगीहरुले सरकारले चालु आव देखि लगाएको मुल्य अभिवृद्धि करको कारण मैदा आँटाको मुल्य प्रतिकेजी ५ देखि ६ रुपैयाँ बढ्ने भन्दै भ्याट फिर्ताको माग गरेका छन् ।

नेपाल मैदा उद्योग संघले शुक्रबार एक विज्ञप्ती जारी गर्दै भ्याट फिर्ताको माग गरेको हो । विज्ञप्तीमा भनिएको छ, ‘दैनिक जिवनमा नभैनहुने अत्यावश्यक खाद्य बस्तु गहुंको पिठो (आंटा) मा चालु आ.ब. देखी मूल्य अभिवृद्धि कर लगाएकोले अरबौंको लगानी रहेको लगभग ३८ वटा स्वदेशी मैदा उद्योगहरु जोखिममा पर्ने भएका छन् ।’

भ्याटको कारण भारतबाट वैध वा अवैध तरिकाले आउने मैदा र आँटासँग प्रतिस्पर्धा गर्न नसिकने अवस्था भएको संघले बताएको छ । सरकारी नीतिका कारण खाद्य उद्योगहरु धमाधम बन्द गर्ने अवस्था आएको र भोलीका दिनमा नेपाल पूर्णरुपमा कृषि खाद्य बस्तु आयात गर्ने देश बन्ने बाटोमा जानसक्ने चेतावनी समेत उद्योगीले दिएका छन् ।

भ्याटको कारणले नै आँटाको मुल्य प्रतिकेजी ५ देखि ६ रुपैयाँ बढ्ने पनि उद्योगीको भनाइ छ । त्यसैले भ्याटको संरचना नै परिवर्तन गरी कृषिजन्य उत्पादनलाई सहुलियत दिन उद्योगीले माग गरेका छन् ।

विज्ञप्तीमा भनिएको छ, ‘मू. अ. कर को संरचनालाई बेलैमा परिमार्जन गरी मल्टिपल भ्याटमा जाँदा राम्रो हुन्छ की भन्नेसंघको अनुरोध छ ।’

त्यस्तै, सबै कामदारलाई अनिवार्य स्थायी लेखा नं. लिनुपर्ने व्यवस्थाले पनि उद्योग सञ्चालन गर्न कठिन हुने भन्दै त्यसलाई पनि पुर्नविचार गर्न उद्योगीको माग छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here