आर्थिक वृद्धिदर सरकारको अनुमान भन्दा बढी हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं, २४ जेठ । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।

बैंकको यो प्रक्षेपण उसले गरेको हालसम्मकै उच्च र सरकारको अनुमान भन्दा पनि बढी हो । सरकारले गत महिना आर्थिक वर्ष २०७५/७६ मा नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) ६.८१ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको थियो ।

विश्व बैंकका अनुसार सेवा र कृषि क्षेत्रमा हुने प्रगतिले मुलुकलाई उच्च आर्थिक वृद्धिको बाटोमा लैजाने भएको हो । चालु वर्षमा सेवा क्षेत्र ७.५ प्रतिशतले र कृषि क्षेत्र ५ प्रतिशतले बढने अनुमान गरिएको छ ।
खुद्रा व्यापार, होटल तथा रेष्टुराँ, पर्यटकको आगमनमा वृद्धि र रेमिट्यान्सका कारण हुने निजी उपभोगमा हुने वृद्धिले सेवा क्षेत्र बढ्ने छ भने अनुकुल वर्षा, बीउ तथा रसायनिक मलको सहज र पर्याप्त उपलब्धता, सिंचाइ सुविधा र व्यावसायीकरणले कृषि क्षेत्रको वृद्धि हुने छ ।

विगत तीन दशकको औसत वृद्धिदर ३.१ प्रतिशतलाई उछिन्दै कृषि क्षेत्र यो वर्ष ५ प्रतिशतले बढ्ने भएको छ । त्यसैगरी, औद्योगिक क्षेत्र पनि तीन दशककै उच्चदरमा रहने प्रक्षेपण गरिएको छ । पर्याप्त ऊर्जा उपलब्धतका कारण औद्योगिक क्षेत्रको वृद्धि यो वर्ष ८.१ प्रतिशत रहने बताइएको छ ।

साथै, विगत केही वर्षमा सरकारले गरेका नीतिगत तथा प्रक्रियागत सुधारले पनि औद्योगिक क्षेत्रको वृद्धिलाई थप बल दिने भएको हो ।

भुकम्पपछिको वर्ष नेपालले विगत दुई दशकभन्दा बढीकै उच्च ७.७४ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको थियो भने गत वर्ष अर्थतन्त्र ६.३ प्रतिशतले बढेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here