कर्णाली पर्यटन वर्ष २०७५ को पहिलो पर्यटक म हुन्छु :प्रम ओली

बैशाख १ मा राराबाट देशबासीलाई सम्बोधन गर्दै

क्लाउडपत्रिका

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले मुगुको रारा तालबाट बैशाख १ गते देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । कर्णाली प्रदेशले आयोजना गर्न लागेको ‘पर्यटन बर्ष २०७५’ को उद्घाटन गर्न रारा जाने कार्यक्रम रहेकोले उनले सोही स्थानबाट देशबासीलाई सम्बोधन गर्ने भएका हुन् ।

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को ७औं महाअधिवेशनको बुधवार राधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो जानकारी दिएकाहुन् ।
‘कर्णाली प्रदेशले आयोजना गरेको पयर्टन बर्ष २०७५ को पहिलो पर्यटक म नै हुन्छु । राराबाट यसपाली पर्यटनको बिगुल बजाइनेछ,’प्रधानमन्त्री ओलीले भने ।

समृद्ध नेपालको मुख्य आधार पर्यटन भएकोले त्यसको प्रवद्र्धनमा सबै क्षेत्र लाग्नु पर्नेमा उनको जोड थियो ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार अघिल्ला सरकार जस्तो नियमित नीति र गतिमा मात्र सञ्चालन नहुने पनि बताए । ‘यो सरकार भिन्न नीति र गतिमा सञ्चालन हुन्छ । यो सरकारले नेपाल बनाउछ । केही बर्षमा मानिसहरुले नेपाललाई सिंगापुर र स्विट्जरल्याण्ड जस्तो भन्नेछन्,’ ओलीले भने ।
उनका अनुसार वर्तमान सरकार जनताको सेवक भएकोले कसैलाई दमन गर्ने छैन । तर हत्या, हिंसा र चन्दाको माध्यमबाट समाजलाई आतंकित पार्नेहरुलाई नछोड्ने चेतावनी उनले दिए ।

प्रधानमन्त्री ओलीले जिफन्टले राष्ट्रिय राजनीतिमा ठूलो प्रभाव नपारे पनि उसका विचारले राजनीति प्रभावित भएको धारणा राखे । ‘समाजको गरिखाने बर्गलाई अधिकार दिलाउने,उनीहरुको उत्थान गर्ने काममा जिफन्टको महत्वपूर्ण भूमिका छ ।
अहिलेको सरकारको प्राथमिकता पनि त्यही हो ।’

ओलीकाअनुसार सरकारका हरेक अभियान अब हमलाको शैलीमा अघि बढ्ने छन् । ‘यसपाली म एकजना बालिकालाई विद्यालय भर्ना गराउँछु र देशैभरीका जनप्रतिनिधीलाई पनि त्यसै गर्न लगाउँछु । जिफन्टले पनि यस अभियानको तयारी गर्नुहेस । यसपाली बैसाख ५गते निरक्षरता विरुद्ध हमला गरौं,’उनले भने ।

भ्रष्टाचार नियन्त्रण,ढिलासुस्ती,विकास निर्माण आदि सबै क्षेत्रमा यसै प्रकारका हमला गरेर अघि बढ्ने प्रधानमन्त्रीको उद्ध्घोष छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here