प्रधानमन्त्री ओली आजबाट यूरोप भ्रमणमा

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आजबाट यूरोप भ्रमणमा निस्कदै छन् । प्रधानमन्त्री ओलीले आगामी जुन १९ सम्म यूरोपका विभिन्न मुलुकको भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ)को शतवार्षिकीका अवसरमा आयोजना हुने समारोहमा भाग लिन जुन ९ देखि १० सम्म स्वीट्जरल्याण्डमा रहने कार्यक्रम छ ।

उक्त कार्यक्रमलाई प्रधानमन्त्री ओलीले सम्बोधन समेत गर्नेछन् । जेनेभामा प्रधानमन्त्रीले विभिन्न मुलुकका राष्ट्राध्यक्षसँग भेटवार्ता गर्ने तय भएको मन्त्रालयले उल्लेख गरेको छ ।

त्यसपछि प्रधानमन्त्री ओली बेलायत भ्रमणमा जानेछन् । बेलायतमा १० देखि १२ जुनसम्म रहँदा प्रधानमन्त्रीले समकक्षी थेरेसा मेसँग भेट वार्ता गर्नेछन् । अक्स्फोर्ड विश्वविद्यालयमा आयोजना हुने कार्यक्रममा १० जुनमा प्रधानमन्त्रीले सम्बोधन गर्ने मन्त्रालयले जानकारी दिएको छ ।

१२ देखि १४ जुनसम्म भने प्रधानमन्त्री फ्रान्स जाने कार्यक्रम तय भएको छ । फ्रान्समा रहँदा प्रधानमन्त्री ओलीले समकक्षी एडवार्ड फिलिपसँग भेटवार्ता गर्नेछन् ।

बेलायतमा १७ वर्षपछि नेपाली प्रधानमन्त्रीको भ्रमण हुँदैछ । बेलायत भ्रमणका दौरान गोर्खा सैनिकका विषयमा केही महत्वपूर्ण सम्झौता हुनेमा बेलायतस्थित नेपाली आशावादी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here