सस्तियो तरकारी, फलफूल भने छोइनसक्नु

काठमाडौं, २६ बैशाख । कोरोना भाइरस (कोभिड–१९) महामारीकाका कारण तरकारीको मूल्य घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार सार्वजनिक गरेको मूल्य सूची अनुसार तरकारीको मूल्य घटेको हो ।

निषेधाज्ञाका कारण होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस लगायत धेरै तरकारी खपत हुने ठाउँ बन्द हुनु मानिसहरु आफ्नै गाउँ फर्केपछि उपत्यकामा तरकारीको खपत निकै कम देखिएकोले तरकारीको मूल्य घटेको सूचना अधिकारी विनय श्रेष्ठले क्लाउड पत्रिकालाई बताए ।

‘देशका अधिकांश जिल्लामा निषेधाज्ञा कारण तरकारीको खपत ह्वात्तै घटेको छ ,जसका कारण आगामी दिनमा अझै घट्ने सम्भावना देखिन्छ श्रेष्ठले क्लाउड पत्रिकासँग भने ।’

निषोधाज्ञा अघि दैनिक ९५० टनसम्म तरकारी आयात हुने गरेकोमा अहिले घटेर दैनिक ५०० टन हाराहारीमा झरेको उनले बताए ।

अहिले कालिमाटी तरकारी बजारमा ६० प्रतिशत नेपाली उत्पादन र ४० प्रतिशत भारतीय उत्पादन आउने गरेको छ ।

बोडी, सिमी, घिरौला, लौकालगायत सिजन तरकारीहरू नेपालमा उत्पादन भई आएका छन् भने भारतबाट माछा, कागती, आलु र प्याज आउने गरेका छन् ।

कालीमाटी फलफूल तथा तरकारी बजारमा काउली, प्याज, गोलभेँडा, बन्दा, लौका, गाजर, आलु, मुला, काँक्रो लगायत अधिकांश तरकारीको भाउ घटेका छन् ।

तरकारीको मूल्य घटे पनि फलफूलको मूल्य भने बढेको छ । भारत लगायत मुलुकबाट निरन्तर आयात भइरहे पनि तुलनात्मक रुपमा माग बढ्दा फलफूलको भाउ महँगो भएको हो ।

पछिल्लो समय कोरोनाका बिरामी बढ्दै गएकाले फलफूलको माग समेत बढेको व्यापारीहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here