निर्धारित समयमा नबन्ने भयो गौतमबुद्ध विमानस्थल, समय सार्न सरोकारवाला सहमत

काठमाडौं, २६ जेठ । भैरहवामा बनिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्धारित समयमा नबन्ने निश्चित भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार यो विमानस्थल निर्माण अवधि कम्तिमा ६ महिना पर सार्न सरोकारवाला सहमत भइसकेका छन् ।

विमानस्थल निर्माणमा एसियाली विकास बैंक (एडीबी)को लगानी रहेको छ । मन्त्रालय स्रोतका अनुसार एडीबी नै विमानस्थल निर्माण अवधि लम्ब्याउन सहमत भइसकेको छ ।

सोहीक्रममा हालै बैंकले संचारकर्मीसहित सरोकारवालालाई विमानस्थलको स्थलगत भ्रमण गराई त्यसको वातावरण तयार पारेको हो । “सिधै समय थप गर्दा बाहिर नराम्रो हल्ला जाने डरले कन्भिन्स गराउन स्थलगत अध्ययन भएको हो,” मन्त्रालयका एक उच्च अधिकारीले भने ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो विमानस्थलको पछिल्लो अवधि असार मसान्त हो । विमानस्थलको ३ हजार मिटर धावनमार्ग निर्माण हुनबाहेक अन्य धेरै काम यहाँ गर्ने बाँकि छ । चिनियाँ ठेकेदार ‘नर्थ वेस्ट सिभिल एभिएसन’मार्फत यो विमानस्थल बनिरहेको छ ।

निर्माण कम्पनीसँग सरकारले २०१४ नोभेम्बरमा सम्झौत भएको थियो । प्रारम्भमा सन् २०१७ डिसेम्मबरसम्म निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको थियो । तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि सरकारले विमानस्थल निर्माणको समय थप गर्दै २०१९ को जुन २८ सम्म पुर्याएको थियो ।

अब डिसेम्बर २०१९ सम्म समय थपेर नेपाल भ्रमणको वर्षको मुखमा विमानस्थल संचालनको वातावरण बनाउने निष्कर्षमा सरोकारवाला पुगिसकेका छन् । एडीबी नै सहमत भएपछि मन्त्रालय र प्राधिकरणलाई यो विमानस्थलको निर्माण अवधि लम्ब्याउन सहज भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here