काम चलाउ सरकारमा मन्त्रिमण्डलका नयाँ अनुहार, कुन दलबाट कति मन्त्री ?

काठमाडौं, २२ जेठ । संसद विघटन गरि काम चलाउ बनेको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा व्यापक हेरफेर गरेका छन् । जनता समाजवादी पार्टीबाट महन्थ ठाकुर पक्षको नेताहरुलाई १० मन्त्री बनाएका उनले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् ।

उनले यसअघिको मन्त्रिमण्डलमा रहेका एक उपप्रधानमन्त्री, ९ मन्त्री र तीन राज्य मन्त्रीलाई बिदा गरेका छन् । नयाँ मन्त्रिपरिषदमा तीन उपप्रधानमन्त्री बनेका छन् । अर्थमन्त्री विष्णु पौडेल अब उपप्रधानमन्त्री समेत बनेका छन् ।

नेकपा एमालेका रघुवीर महासेठ र जसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई समेत उपप्रधानमन्त्री बनाइएको छ । परिवर्तित मन्त्रिमण्डलमा उपप्रधानमन्त्रीमा विष्णु पौडेल (अर्थ), राजेन्द्र महतो (शहरी विकास) र रघुवीर महासेठ (परराष्ट्र)लाई तोकिएको छ।

नयाँ मन्त्रिमण्डलबाट जसपाबाट उपप्रधानमन्त्री महतोसहित ८ मन्त्री र दुई राज्यमन्त्री थपिए । प्रधानमन्त्री ओलीले शरदसिंह भण्डारीलाई उर्जा, जलस्रोत तथा सिचाई मन्त्री बनाएका छन् । अनिलकुमार झालाई खानेपानी र लक्ष्मणलाल कर्णलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय जिम्मा लगाएका छन् ।

विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा र उमाशंकर अरगरिया वन तथा वातावरण मन्त्री बन्दा चन्दा चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकवाल मियालाई युवा तथा खेलकुद मन्त्री बनेका छन् ।

सत्तारुढ एमालेका शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् । जसपाका चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री बनेका छन् ।

ओलीले एमाले महासचिव ईश्वर पोखरेलसहित ९ मन्त्री र तीन राज्यमन्त्रीलाई बिदा गरेका छन् ।

उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, संस्कृति पर्यटन तथा नागरिकमन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपक्षी विकासमन्त्री पद्‍माकुमारी अर्याल, सञ्चारमन्त्री र्पावत गुरुङ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाम्फेलाई मन्त्रीबाट हटाएका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश गठुन्ना, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोलाई समेत हटाइएको छ ।

स्वास्थ्य राज्यमन्त्री नवराज राउत, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र उद्योग राज्यमन्त्री विमला विकको समेत मन्त्री पद गएको छ ।

मौजुदा मन्त्रिपरिषद्का चार मन्त्रीलाई भने प्रधानमन्त्री ओलीले अटाएनन् । अर्थमन्त्री पौडेल, भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र कानूनमन्त्री लीलानाथ श्रेष्ठको पद भने जोगिएको छ ।

गृह, रक्षा, सञ्चार, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन मन्त्रालय भने प्रधानमन्त्री आफैले राखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here