गर्मीमा बालबालिकामा देखिने प्रमुख समस्या घमौरा, यी हुन जोगिने उपाय

काठमाडौं । गर्मीमा अरु धेरै रोगसँगै छालामा घमौरा पनि देखिन्छ । गर्मीकै कारणले बालबालिकामा देखिने प्रमुख समस्या भनेको घमौरा हो ।

गर्मीमा पसिना बढी आउँछ र पसिना निस्किने ग्रन्थीका नलीहरु विभिन्न कारणल बन्द भइदिँदा छालामा चिलाउने वा नचिलाउने मसिना बिमिराहरु देखा पर्छन्, जसलाई घमौरा भनिन्छ।

घमौरा धेरैजसो घाँटीमा, काखीमा वा कापमा देखिने भएपनि कहिलेकाहिँ अन्य भागमा पनि देखिन सक्छन्। गर्मी वातावरण, बाक्लो लुगा, ज्वरो आउँदा घमौरा आउन सक्छ ।

भर्खर जन्मिएका बच्चामा भने पसिनाको ग्रन्थी राम्रोसँग विकास भइनसकेको हुनाले घमौराको समस्या बढी देखिन्छ।

त्यसैगरी गर्मीमा ब्याक्टेरियाकोबाट हुने छाला सम्बन्धि संक्रमण बढी देखिन्छ । फोहोर खेल्ने, हातखुट्टा नियमित सफा नगर्ने, नियमित ननुहाउने र प्रदूषित वातावरण मुख्य कारण हुन् ।

घमौरा कस्तो खालको संक्रमण हो ?

घमौरा पसिनाको ग्रन्थीहरुबाट आउने एक किसिमको संक्रमण हो । पसिनाको ग्रन्थीका प्वालहरु शरीरमा सबैतिर सिधा–सिधा भएर जान्छन् । र केही गरी कुनै बेला पसिनाको प्वालहरु बन्द भयो भने शरीरमा घमौरा देखिने हो । यो सबै उमेरका मानिसलाई हुन सक्छ ।

गर्मीमा आउने घमौरा ३ प्रकारका हुन्छन् । एउटा मिलिर्याक्टिसोनिया भन्छ, जुन ज्वरो आउने बित्तिकै शरीरमा एकदम धेरै उतार चढाब आयो, शरीर धेरै तातो भयो भने आउने घमौरा हुन्छ ।

पानीको फोका जस्तो मसिनो मसिनो झिलझिल भएको एउटा प्रकार हुन्छ । अर्को एकदम घोच्ने प्रकारको, अहिले हामीले जुन घमौरा भनेर चिनेका छौं । रातो रातो थोप्लो भएकोे । र दोहोरिएर आइरहने अलि ठूलो खालको हुन्छ, त्यसलाई प्रोफण्डा भन्छ ।

जोगिने उपाय

गर्मीबाट जोगिनु नै घमौरा आउन नदिने पहिलो उपाय हो । खाशगरी चर्काे घाममा ननिस्किने र बच्चालाई सक्दो ननिकाल्ने, हल्का पातलो, खुकुलो सुतिको कपडा लगाउने, गुम्सिने, साँघुरो र बाक्ले कपडा प्रयोग नगर्ने गर्नुपर्छ । बालबच्चालाई सक्दो शितलमा राख्ने गर्नुपर्छ। गर्मीमा पनि आगोमा सेक्ने वा घाममा राख्ने कतिले गरेका हुन्छन् । यस्तो बिलकुलै गर्नुहुँदैन।

घमौरा आइसकेको छ भने सफा रुमाल धाराको पानीमा भिजाएर नियमित पुछिदिने गर्नुपर्छ। पुछेपछि त्यो भागलाई हावमा सुक्न दिने गर्नुपर्छ।

यसैगरी घाउ र खटिरा सर्ने भएकाले अन्य केटाकेटीलाई नजिक आउन नदिने गर्नुपर्छ। घमौरा, घाउ, खटिरा आउँदा कोट्याउन नदिने, सरसफाईमा ध्यान दिने गर्नुपर्छ। यसरी ठीक भएन भने नजिकको स्वास्थ्य संस्थामा गएर सल्लाह लिन जरुरी हुन्छ। एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here