अझै साटिएन भारु पाँच सय र हजार दरका नोट, ८ करोड रुपैयाँ कागज सरह बने

काठमाडौं २९, जेठ । नेपालमा रहेको भारु पाँच सय र हजार दरका नोट अझै साट्न सकिएको छैन । नोट सटहीबारे भारतीय पक्षले नेपालको कुरा सुन्नै छोडेकाले नोट साट्ने सम्भावना न्यून बन्दै गएको छ ।

यसकारण भारु पाँच सय र हजार दरका नोट चलनचल्तीबाट हटाएको करिब तीन वर्षसम्म पनि नसाटिएको हो । नोट सटहीका लागि सरकार र राष्ट्र बैंकमार्फत पटक पटक प्रयास भए पनि भारतीय पक्षले महत्व नदिएको राष्ट्र बैंकले बताएको छ ।

भारत सरकारले ०७३ कात्तिक २४ गते (नोभेम्बर ९, २०१६) देखि भारु पाँच सय र हजार दरका नोट चलनचल्तीमा प्रतिबन्ध लगाएको थियो । त्यसबेलादेखि नेपालमा पनि भारु पाँच सय र हजार दरका नोट चलेका छैनन् । राष्ट्र बैंकका अनुसार वित्तीय प्रणालीमा करिब ५ करोड भारु पाँच सय र हजार दरका नोट छन् । यसबाहेक सर्वसाधारणसँग भएको प्रतिबन्धित भारुको यकिन तथ्यांक राष्ट्र बैंकसँग पनि छैन ।

पछिल्ला महिनामा नेपाल सरकारले प्राथमिकताका साथ पहल नगरेको र राष्ट्र बैंकको अक्षमताका कारण वैधानिक रूपमा रहेका भारु पनि साट्न नसकिएको जानकारहरु बताउँछन् ।

नेपालजस्तै छिमेकी राष्ट्र भुटानमा रहेको सबै प्रतिबन्धित भारु नोट सटही भइसकेको छ । भारतले प्रतिव्यक्ति २५ हजारका दरले भुटानमा रहेको भारु पाँच सय र हजार दरका नोट सटही गरिदिएको हो  । नोट सटहीका सन्दर्भमा भारतले नेपालप्रति देखाएको व्यवहार सहय नभएको विज्ञहरू बताउँछन् । सरकार, अर्थ मन्त्रालय र राष्ट्र बैंकले प्रभावकारी रूपमा कुरो राख्न नसक्दा यस्तो अवस्था आएको उनीहरूको भनाइ छ  ।

पछिल्ला वर्षमा नेपाल र भारतबीचको उच्च स्तरिय भेटघाटमा पनि नोट सटही विषय उठन छोडेको छ । खुला सीमाका कारण धेरै नेपालीहरू भारतमा काम गर्न जान्छन् भने वैदेशिक व्यापारको ठूलो हिस्सा भारतसँग हुँदै आएको छ । दुई वर्षसम्म पनि भारु नसाटिँदा सर्वसाधारण र व्यापारी मर्कामा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here