गण्डकीका राजमो सांसद थापा फेरि कारबाहीमा, विपक्षी गठबन्धनलाई सहज

काठमाडौं, २८ जेठ । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापा फेरि कारबाहीमा परेका छन्। पार्टीको ह्विप उल्लंघन गरेपछि उनलाई प्रदेशको सांसद पदबाट पुनः हटाइएको हो ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विपक्षमा मतदान गर्न पार्टीले गरेको ह्विप उल्लंघन गरेपछि उनलाई दोस्रोपटक सांसदबाट हटाइएको हो। बिहीबारको मतदान प्रक्रियामा थापा तटस्थ बसेका थिए।

पहिलो पटक प्रदेश सभाबाट निलम्बित सांसद थापालाई सर्वोच्च अदालतले गत जेठ २३ गते पुनरबहाली गर्न अन्तरिम आदेश दिएको थियो।

हाल उनको मुद्दा अदालतमा विचाराधीन छ। पार्टीको ह्विप पालना नगरेको भन्दै कारबाहीमा परेका थापालाई अहिले पनि सोही कारण देखाउँदै कारबाही गरिएको हो।

जनमोर्चाको संसदीय दलले उनलाई हटाएको सूचना संसद सचिवालयमा दर्ता गरिएको थियो। थापालाई हटाइएको पत्र सभामुख नेत्रनाथ अधिकारीले संसद्‌को आज (शुक्रबार) को बैठकमा पढेर सुनाएका थिए।

थापालाई हटाइएपछि कूल सांसद संख्या ५९ भएको छ। बहुमतका लागि ३० सांसदले भए पुग्ने भएको छ। विपक्षी दलका ३० सांसदले बिहीबार मुख्यमन्त्री गुरुङका पक्षमा मतदान गरेका थिए। थापा कारबाहीमा परेपछि उक्त संख्याले गठबन्धनलाई बहुमत पुग्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here