नेप्सेले बनायो सर्वाधिक उच्च विन्दुको रेकर्ड, १८ अर्ब ८८ करोडको कारोबार

काठमाडौं, ३१ जेठ । पछिल्लो समय लगातार दैनिक जस्तो नयाँ रेकर्ड बनाउँदै आएको शेयर बजारले आज फेरि नयाँ कीर्तिमान बनाएको छ ।

साताको दोस्रोदिन नेप्सेले ३०२५ विन्दु चुम्दै सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको हो । नेप्से ३००० विन्दु पुगेको इतिहासमै पहिलो पटक हो । यसअघि जेठ ३० गते नेप्सेले सर्वाधिक २९८३ विन्दु चुमेको थियो ।

आज शेयर बजार मापक सूचक नेप्से ४२.७२ अंकले बढेर ३०२५.८३ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२१ कम्पनीको १८ अर्ब ८८ करोड ४० लाख ३१ हजार ५१८ रुपैयाँ बराबरको ३ करोड ५० लाख २७ हजार ३६३ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ७ समूहको परिसूचकमा हरियाली छाएको छ भने ६ समूहको परिसूचक राताम्मे भएका छन् । होटल समूह सबैभन्दा धेरै ४.२५ प्रतिशत, इन्भेष्टमेन्ट समूह ३.३६ र बैंकिङ समूह २.७२ प्रतिशतले बढेको छ ।

उच्च अंकले बढेको बजारमा आज १ दर्जन बढी कम्पनीको शेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । नेपाल इन्स्योरेन्स, खानीखोला, जोशी र घलेम्दी हाइड्रोपावरको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

यसैगरी, ङादी ग्रुप, ओरेन्टल होटल, सीईडीबी हाइड्रोपावर, तारा गाउँ होटल, युनियन हाइड्रो, एचआइडीसीएल, सोल्टी होटल र हिमालयन डिस्ट्रीलरीका शेयर धनीले करिब १० प्रतिशत कमाएका छन् ।

अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको ६२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा अपी पावर ५४ करोड र हिमालयन डिस्ट्रीलरी ५० करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here