बैंकको आलोपालो सिस्टम हट्यो, आवश्यकता अनुसार शाखा खुला गर्न निर्देशन

संकेतिक तस्विर

काठमाडौं, १ असार । बैंकहरुमा लगाइएको कोटा सिस्टम हटेको छ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलोभएसँगै नेपाल राष्ट्र बैंकले सुरक्षा मापदण्ड पालना गरेर आवश्यकता अनुसार बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएको हो ।

यसअघि फरक दिन, फरक ठाउँमा कोटा तोकेर सेवा दिइरहेका बैंक तथा वित्तीय संस्थाका शाखा अब आवश्यकताअनुसार खुला गर्न पाइनेछ ।

उपत्यकामा स्थानिय प्रशासनले ३ साताअघि बैंकहरुलाई समिति शाखा खोल्न कोटा तोकेको थियो । जसमा काठमाडौं जिल्लामा केन्द्रीय कार्यालय बाहेक ३, ललितपुरमा २ र भक्तपुरमा १ शाखा खोल्न निर्देशन दिएको थियो ।

यसरी आलोपालो अनुसार शाखा खोल्दा सेवाग्राहीको अत्यधिक भिडभाड भएको र यसले कोरोना सङ्क्रमणको जोखिम झनै बढेको भन्दै आलोचना भइरहेको छ ।

स्थानिय प्रशासनले बैंक शाखा खोल्न गरेको कडाइमा खुकुलो गरेसंगै आज असार १ गतेदेखी बैंकका शाखाहरु धेरै खुल्ने भएका छन ।

बैंक तथा वित्तीय संस्थाले आफ्नो व्यावसायिक निरन्तरतालाई उच्च प्राथमिकतामा राखेर सकभर घरबाटै काम गर्न र कार्यालयमा पनि न्यूनतम कर्मचारी राखेर सेवा दिन राष्ट्र बैंकले निर्देशन दिएको छ ।

केन्द्रीय कार्यालयको हकमा एक तिहाइ र शाखा कार्यालयमा न्यूनतम कर्मचारी राख्न राष्ट्र बैंकले भनेको छ । सेवाग्राहीलाई पनि सकभर विद्युतीय माध्यमबाट कारोबारमा प्रोत्साहित गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

नजिक नजिकै रहेका दुई वा दुईभन्दा धेरै शाखा खोल्नुको साटो एउटै शाखाबाट सेवा दिन राष्ट्र बैंकले सुझाव दिएको छ । बन्द भएका शाखाको सटरमा वा वेबसाइट र सामाजिक सञ्जालमा खुला भएको शाखाको स्पष्ट जानकारी दिने गरी सूचना दिन पनि निर्देशन दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here