जीवन विकास लघुवित्तको १९ लाख ७७ हजार कित्ता आइपीओ आउँदै

काठमाडौं, १ असार । जीवन विकास लघुवित्त वित्तीय संस्थाले प्राथमिक साधरण शेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले लघुवित्तलाई प्रतिकित्ता १०० रुपैयाँ दरले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३० कित्ता आइपीओ जारी गर्न अनुमति दिएको हो ।

हाल ४१ करोड ६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ निष्काशन पछि चुक्ता पूँजी ६० करोड ८३ लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीले आइपीओ जारी गर्न यसअघि नै एनएमबी क्यापिटललाई शेयर निष्काशन तथा विक्री प्रबन्धमा नियुक्ति गरिसकेको छ ।

यस्तै, लघुवित्तले आइपीओ जारी गर्न रेटिङ समेत गराइसकेको छ । लघुवित्तको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले लघुवित्तको समयमा वित्तीय दायित्व वहन गर्नसक्ने क्षमता मध्यम रहेको जनाउँदछ ।

लघुवित्तले हाल देशका १६ वटा जिल्लाका १३६ वटा शाखा कार्यालय मार्फत वित्तीय कारोबार गर्दै आएको छ । लघुवित्तले गत वर्ष एकैसाथ सल्भ लघुवित्त र गरिबी न्यूनीकरण लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेको थियो ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म लघुवित्तले ५६ करोड ३९ लाख खुद मुनाफा कमाएको छ । ४१ करोड चुक्ता पूँजी रहेको लघुवित्तको रिजर्भ कोषमा १ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ ।

लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी १८३.०९ रुपैयाँ र प्रति शेयर नेटवर्थ ५३७.१४ रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here